क्होला सोंथरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने श्यामको प्रतिवद्धता

पोखरा,१ मंसिर,

मंसिर ४ गते हुने निर्वाचनमा गण्डकी प्रदेशसभा सदस्यका लागि कास्की क्षेत्र नम्वर १ ‘ख’ का एमाले उम्मेदवार बेदबहादुर गुरुङ ‘श्याम’ले तमुहरुको ऐतिहासिक स्थल क्होला सोंथरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न पहल गर्ने बताएका छन् ।

बुधवार घरदैलो कार्यक्रममा बोल्दै गुरुङहरुको आदिम थलोको रुपमा परिचित क्होला सोंथरको संरक्षण र प्रवद्र्धन गर्ने प्रतिवद्धता व्यक्त गरे । निर्वाचित भएपछि उनले ऐतिहासिक, धार्मिक, सांस्कृतिक तथा प्राकृतिक हिसाबले महत्वपूर्ण रहेको क्होला सोंथरलाई विश्व सम्पदा सूची राख्न पहल गर्ने बताए । ‘क्होला सोंथर हाम्रो पैतृक थलो हो। यसलाई हामीले नै जोगाउनु पर्छ । मलाई जिताउनु भयो भने संसदमा होस् या सरकारमा सम्पूर्ण गुरुङहरुको प्रतिनिधित्व गर्दै यसलाई जोगाउन विशेष पहल गर्ने छु ।’ उनले भने, ‘ऐतिहासिक, धार्मिक र सांस्कृतिक रुपले मात्र हैन,पर्यटकिय दृष्टिकोणबाट पनि निकै महत्वपुर्ण छ । यसलाई हामीले जोगाएर संसारसामु चिनाउन सक्यौं भने यस क्षेत्रमा पर्यटकको ओइरो लाग्छ ।’

उनले १२ औं शताव्दीसम्मको इतिहास क्होला सोंथरमा फेला परेको भन्दै क्होलाको बारेमा भएको अलिखित इतिहासहरुको खोजी गर्ने र यसलाई लिपिबद्ध गर्ने प्रतिवद्धता जनाए । उनले आफू मादीगाउँपालिकाको प्रमुखको रुपमा काम गर्दा क्होला सोंथरको प्रवद्र्धनमा काम गरेको सुनाए । मादी गाउँपालिका वडा नं २ ताङतिङ हुँदै तमुहरुको सभ्यता संस्कृति जोडिएको त्यस स्थलसम्म पुग्ने १० किलोमिटर मोटरबाटो खनेको जनाए ।

Advertisment