वन्यजन्तुलाई खानेपानी सहज बनाउन जङ्गलभित्र पोखरी निर्माण

ठाकुरप्रसाद आचार्य
म्याग्दी, वैशाख २८ गते ।
 वन्यजन्तु र चराचुरुङ्गीहरूलाई पिउने पानीको व्यवस्थापन गर्नका लागि म्याग्दीका सामुदायिक वनमा पोखरी निर्माण गरिएको छ ।

डिभिजन वन कार्यालयले दुई आर्थिक वर्षमा गरेर १६ वटा पोखरी निर्माण गरेको हो । पोखरी निर्माण भएपछि वनजङ्गलका जनावर र चराचुरुङ्गीहरूका लागि पानी खान सहज हुने विश्वास गरिएको छ । साथै पोखरी निर्माण भएपछि जङ्गलमा लागेको आगलागी नियन्त्रणमा समेत सहयोग पुगेको छ ।

अघिल्लो आर्थिक वर्षमा १० र चालु आर्थिक वर्षमा छ गरी १६ वटा सामुदायिक वनमा वन्यजन्तुका लागि जङ्गलभित्र पोखरी निर्माण गरिएको सहायक वन अधिकृत नरबहादुर क्षेत्रीले जानकारी दिनुभयो ।

उहाँका अनुसार निर्माण गरिएको पोखरीहरूमा नजिकमा रहेको पानीको स्रोतबाट पानी ल्याएर पोखरी भरिएको छ । वनजङ्गलमा रहेका वन्यजन्तुहरू पानीको खोजीमा मानव बस्तीमा नआउन भनेर जङ्गलभित्र पोखरी निर्माण गरिएको अधिकृत क्षेत्रीले बताउनुभयो ।

‘‘पानीको खोजीमा वन्यजन्तुहरू मानव बस्तीमा आउनेक्रम बढेका कारण जङ्गल भित्र पोखरी निर्माण योजना अगाडि बढाएका हौँ,’’ सहायक वन अधिकृत क्षेत्रीले भन्नुभयो, ‘‘वन्यजन्तुले सहज रूपमा पानी पिउन सक्ने गरी पोखरी निर्माण भएका छन् ।’’

पोखरी निर्माणका लागि छनौट भएका सामुदायिक वन उपभोक्ता समितिहरूलाई प्रतिपोखरी एक लाखका दरले बजेट उपलब्ध गराएको उहाँले बताउनुभयो ।

वन कार्यालयका अनुसार यस वर्ष बेनी नगरपालिका–७ को बराहपाखो, धवलागिरि–७ को भगवती महिला, अन्नपूर्ण–८ को घुमाउने कोखे, मङ्गलाको खुम्लीय, मालिका–६ को दह र रघुगंगा–१ को बाँदुक भुमेबराह सामुदायिक वनमा पोखरी निर्माण गरिएको वन कार्यालयले जानकारी दिएको छ ।

पोखरी निर्माणले जैविक विविधता संरक्षण, जलवायु अनुकूलन तथा वनजन्तु मानव बस्तीमा प्रवेश कमी हुने विश्वास गरिएको डिभिजन वन कार्यालयका वन अधिकृत मनोज रानाभाटले बताउनुभयो । जङ्गलभित्र रहेका पानी पोखरीले वनक्षेत्रमा लागेको डढेलो नियन्त्रणमा समेत उपयोगी हुने उहाँको विश्वास छ ।

Advertisment