१३ अर्बको विकास ऋणपत्र निष्कासन हुँदै

काठमाडौँ,  असोज १४ गते । नेपाल राष्ट्र बैङ्कले आज रु १३ अर्ब १० करोड बराबरको विकास ऋणपत्र निष्कासन गर्ने भएको छ । आठ वर्षे अवधिको ‘विकास ऋणपत्र २०८८-ग’ बोलकबोल प्रक्रियाद्वारा निष्कासन गर्न लागिएको राष्ट्र बैङ्कले जनाएको छ ।

यो ऋणपत्र बैङ्क तथा वित्तीय संस्था, गैर बैङ्क वित्तीय संस्था, बिमा कम्पनी, सङ्गठित संस्था तथा सर्वसाधारण नागरिकले खरिद गर्न पाउनेछन् । बोलकबोल प्रक्रियामा आज दिउँसो ३ बजेसम्ममा भाग लिन सकिनेछ ।

वि.सं २०८८ असोज १५ गते साँवा भुक्तानी हुने यो ऋणपत्रको ब्याजदर बोलकबोलको माध्यमबाट निर्धारण हुनेछ । ब्याज भुक्तानी अर्धवार्षिक रूपमा हुने र आर्जित ब्याजमा ब्याजदर लाग्ने पनि राष्ट्र बैङ्कले उल्लेख गरेको छ ।

बोलवाला प्रक्रियामार्फत कबोल गरेको ब्याजदरलाई सानोदेखि ठुलो क्रममा मिलाएर राखी बाँडफाँट गरिने रकमसम्ममा कायम भएको कटअफ ब्याजदरलाई एकल ब्याजदर कायम गरी सो ब्याजदर र सो ब्याजदरभन्दा तलका सबै बोलवालाहरूलाई सोही एकल ब्याजदरमा ऋणपत्र उपलब्ध गराइनेछ ।

यो ऋणपत्रको इच्छुक खरिदकर्ता प्रतिस्पर्धी वा अप्रतिस्पर्धी रूपमा सहभागी हुनसक्नेछन् । प्रतिस्पर्धी र अप्रतिस्पर्धी बोलवालाहरुलार्ई क्रमशः निष्कासित रकमको ८५ र १५ प्रतिशत छुट्याइएको छ । बोलकबोलमा घटीमा रु ५० हजार र बढीमा कुल निष्कासित रकमको सीमामा नबढाई रु ५० हजारले भाग गर्दा निःशेष भाग जाने अङ्कमा खरिद गर्न सकिनेछ ।

यस ऋणपत्रको दोस्रो बजार कारोबार नेपाल स्टक एक्सचेन्ज लिमिटेडमार्फत हुने राष्ट्र बैङ्कले जनाएको छ । रासस

Advertisment