कास्कीमा गठबन्धनको मतदाता भेटघाट सम्पन्न

८ माघ, पोखरा ।

राष्ट्रिय सभा निर्वाचन २०८० का सन्दर्भमा चुनाव प्रचारप्रसार समिति, सत्तापक्षीय गठबन्धन गण्डकी प्रदेशले आज कास्की जिल्लामा मतदाता भेटघाट गरेका छन् ।
राष्ट्रिय सभा निर्वाचनका लागि सत्ता गठबन्धनका तर्फबाट गण्डकी प्रदेशका उम्मेदवारहरू नेपाली काँग्रेसका किरणबाबु श्रेष्ठ(गोरखा) र पदमबहादुर परियार(तनहुँ) एवम् नेकपा माओवादी केन्द्रबाट मनरुपा शर्मा (पर्वत) सहित मतदाता भेटघाट गरिएको हो ।
कार्यक्रममा उम्मेदवारहरूले संविधानले निर्दिष्ट गरेका अधिकार अनुरुप राष्ट्रिय सभाको भूमिकालाई प्रभावकारी बनाउन आफ्नो उम्मेदवारी भएको बताउनुभयो ।
कार्यक्रममा नेपाली काँग्रेसका सहमहामन्त्री जीवन परियारले संविधानको रक्षासँगै राष्ट्रिय सभाको गरिमालाई उचो बनाउनका लागि गठबन्धनका उम्मेदवारलाई विजयी बनाउन आग्रह गर्नुभयो ।
नेपाली काँग्रेस कास्कीका सभापति किशोरदत्त बरालको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाली काँग्रेस गण्डकी प्रदेशका महामन्त्री एवम् चुनाव प्रचारप्रसार व्यवस्थापन उपसमितिका संयोजक बिष्णु प्रसाद लामिछानेले उम्मेदवार परिचय गराउनुुभएको थियो ।
कार्यक्रममा नेकपा एकिकृत समाजवादीका गण्डकी प्रदेश अध्यक्ष श्रीनाथ बराल, राष्ट्रिय जनमोर्चा गण्डकी प्रदेश अध्यक्ष शंकर बराल, नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवम् कास्की इन्चार्ज राजकाजी गुरुङ(करण) लगायतका नेताहरूले बोल्नुुभएको थियो ।
गठबन्धन दलका तर्फबाट प्रदेश भित्रका जिल्लाहरूमा पुगेर मतदाता भेटघाट सम्पन्न भएको नेपाली काँग्रेस गण्डकी प्रदेश प्रचारप्रसार विभागका उपप्रमुख शिरोमणि बरालले जानकारी दिनुभयो ।

Advertisment