मगर भाषाको चलचित्र ‘माराङ’ को प्रिमियर शो, फागुन २६ गते पोखरामा प्रदर्शन हुदै

पोखरा, १० फागुन,

सुनारी फिल्सको प्रस्तुती मगर भाषामा निर्माण भएको चलचित्र ‘माराङ’ को पोखरामा प्रिमियर शो गरिएको छ ।

नेपाल मगर संघ कास्कीको समन्वयमा बिहिबार पोखरामा मगर कथानक चलचित्र ‘माराङ’ को प्रिमियर गरिएको हो । प्रिमियर शोमा मगर समुदायका अगुवा एवम चलचित्रकर्मीहरुको बाक्लो उपस्थिती थियो । बुद्या सिंह मगरको लेखन तथा निर्देशन रहेको चलचित्रको प्रदर्शन भने फागुन २६ गते पोखराको बाराही हलमा गरिने चलचित्रका निर्माता तुलबहादुर सारु मगरले जानकारी दिए । ‘मगर कथानक चलचित्र माराङ हामीले देशको विभिन्न जिल्लामा प्रदर्शन गरिसकेका छौं’, निर्माता सारु मगरले भने, ‘भाषा र संस्कृतिकलाई मुख्य जोड दिएको छ ।’ उनले भने । माराङ चलचित्र फाइदाको लागि भन्दा पनि मगर समुदायको भाषा, संस्कृति संरक्षणको लागि निर्माण गरिएको उनको भनाई छ ।

प्रिमियर शोमा नेपाल मगर संघ कास्कीका अध्यक्ष रामबहादुर थापामगरले माराङ चलचित्र मगर भाषामा भएकाले यस भाषाको संरक्षणमा जोड दिएको उल्लेख गरे । ‘पछिल्लो पुस्ताले मगर भाषा बुझ्दैन, बोल्न खोज्दैन, हाम्रो कला संस्कृति हराउँदै छ’, थापामगरले भने, ‘माराङ चलचित्र मगर भाषामा निर्माण भएको छ,यस चलचित्रले भाषा, संस्कृतिसँगै कलाको संरक्षणमा महत्वपूर्ण सहयोग पु¥याउँछ ।’ चलचित्रमा रमेश बाबु थापामगर, सृजना मरासङ्गी मगर, टिका थापामगर, टेक रानामगर, गणेश घले, प्रेमकुमारी मगर, लक्ष्मी थापामगर र सञ्जोक लाफामगर लगायतको अभिनय रहेको छ । चलचित्रलाई तुल मगर, रुपमा मगर र सरु मगरले निर्माण गरेका हुन् । चलचित्रलाई दिपेन बस्नेतले सम्पादन गरेका हुन । चलचित्रमा नेपाली भाषाको सबटाइटल समावेश गरिएको छ ।

Advertisment