पोखरा । पोखरा – १७ घारीपाटनस्थित पर्वतीय समाजले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५१ हजार १ सय ११ रुपैयाँ सहयोग गरेको छ ।
भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत तथा पुनर्स्थापनाका लागि समाजले आज जिल्ला प्रशासन कास्की पुगेर सहयोग गरेको हो । सहयोग हस्तान्तरण गर्दै समाजका अध्यक्ष पञ्चराम गुरुङले विपद्को समयमा प्रभावित नागरिकलाई सहयोग गर्नु सामाजिक दायित्व भएको र रसुवामा बाढीबाट ठूलो जनधनको क्षति भएकाले उद्धार, राहत तथा पुनर्स्थापनाका लागि सबैले आ – आफ्नो तर्फबाट योगदान गर्नुपर्ने बताउनुभयो ।
गण्डकी प्रदेश सभा सदस्य समेत रहनुभएका गुरूङले समाजले स्थानीयस्तरबाट रकम संकलन गरी यो सहयोग उपलब्ध गराएको जानकारी दिनुभयो । समाजले यसअघि २०७२ सालको भूकम्पका बेला पनि स्थानीयस्तरबाटै रकम जुटाएर प्रभावित क्षेत्रमा सहयोग पुर्याएको थियो।




