पोखरा, सर्बोच्च अदालतले ४८ घण्टा भित्र मुख्यमन्त्रीमा गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली काँग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे नियुक्त गर्न आदेश संगै बुधबार प्रदेश प्रमुख डिल्लीराज भट्टले कांग्रेस संसदीय दलका नेता पाण्डेलाई संविधानको धारा १६८ (३) बमोजिम मुख्यमन्त्री नियुक्त गर्नुभएको छ ।
खगराज अधिकारीलाई नियुक्ति गर्दा असंबैधानिक प्रक्रिया अपनाएको ठहर गर्दै सर्वाच्च अदालतले पाण्डेलाई ४८ घण्टा भित्र मुख्यमन्त्री नियुक्त गर्न गण्डकीका प्रदेश प्रमुखलाई आदेश दिएको थियो ।
१४ जेठमा सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मी र सुनिलकुमार पोखरेलको इजलासले दिएको आदेश अनुरुप प्रदेश प्रमुख भट्टले पाण्डेलाई नियुक्त गर्नुभएको हो। दोश्रो पटक मुख्य मन्त्री नियुक्त पाण्डेको सपथ बुधबार अपरान्ह ५:१० बजे पोखरा सभागृहमा हुने प्रदेश प्रमुखको सचिवालयले जानकारी दिएको छ ।
मुख्यमन्त्री पाण्डेले आजै सानो आकारको मन्त्रिमण्डल गठन गर्ने तयारीमा रहनुभएको छ । राप्रपालाई समेट्ने प्रयास भएतापनि पार्टीको तयारी नपुगेको भन्दै पछि सहभागी हुने जवाफ आएको स्रोतले बताएको छ । यता दिपक मनाडंगेलाई समेटेर ३ सदस्यिय मन्त्रिमण्डल बन्ने भएको बताईन्छ ।




