कांग्रेसको मादी गाउँपालिका वडा नं १२ मा क्रियाशिल सदस्यता वितरण

पोखरा, २४ भदौ । कास्कीका ७२ वटै वडामा एकै दिन एउटै समयमा पार्टीको क्रियाशिल सदस्यता वितरण अभियान अन्तर्गत मादी गाउँपालिका वडा नं १२ मा आज क्रियाशिल सदस्यता वितरण तथा प्रशिक्षण कार्यक्रम सम्पन्न  भएकोछ ।
नेपाली काँग्रेस कास्कीले उक्त वडामा सदस्यता वितरणका लागि नेपाली काँग्रेस गण्डकी प्रदेश प्रचारप्रसार विभागका उपपप्रमुख शिरोमणि बरालको संयोजकत्वमा पाँच सदस्यीय प्रतिनिधि खटाएको थियो ।
१११ औं विपी जयन्ती समेतको अवसर पारी आयोजित कार्यक्रममा सदस्यता वितरण गर्दै प्रमुख अतिथि एवम् गण्डकी प्रदेश प्रचारप्रसार विभागका उपप्रमुख शिरोमणि बरालले गाउँगाउँका इमान्दार कार्यकर्ताले नै पार्टीको गरिमालाई बचाइरहेको बताउनुभएको छ । विपीका आदर्शलाई आत्मसात गर्र्दै अघि बढ्न सकेमा मात्रै काँग्रेसले आफ्नो गरिमालाई जोगाउँदै समाज र राष्ट्रमा नेतृत्वदायी भूमिका निर्वाह गर्न सक्ने बताउनुहुंदै बकालले विपीको जीवनी, व्यक्तित्व र कृतित्व लगायतका विषयमा जानकारी समेत गराउनुभयो ।
जिल्ला प्रतिनिधि एवम् नेपाल शिक्षक संघ कास्कीका पूर्व अध्यक्ष मित्रलाल सापकोटाले विपीले देखाएको बाटोलाई विर्सन नहुनेमा जोड दिदै तल्लो तहको कार्यकर्ताको इमान्दारिता र क्रियाशिलताले नै पार्टी संगठन जोगाएको धारणा राख्नुभयो ।
जिल्ला प्रतिनिधि एवम् नेपाल किसान महासंघ कास्की क्षेत्र नं १ का सभापति धनेश्वर न्यौपानेले समाजको तल्लो तहका कार्यकर्ताको भावनालाई नेतृत्वले आत्मसात गर्न सक्नुपर्नेमा जोड दिनुभयो ।
जिल्ला प्रतिनिधि एवम् नेपाली काँग्रेस मादी गाउँपालिकाका उपसभापति कृष्णचन्द्र बरालले देशै भरी एकै दिन एउटै समयमा क्रियाशिल सदस्यता वितरण भैरहेको बताउँदै प्रत्येक सदस्यले इमान्दारिता र जिम्मेवारिताका साथ पार्टी संगठनलाई बलियो बनाउन लाग्नुुपर्ने आवश्यकता औंल्याउनुभयो ।
कार्यक्रमका सभापति एवम् नेपाली काँग्रेस मादी गाउँपालिका वडा नं १२ का सभापति महेन्द्रप्रसाद पौडेलले वडाको पार्टी संगठनका गतिविधि बारे जानकारी गराउनुभयो । स्थानीय तहमा क्रियाशिल कार्यकर्ताको भावनालाई पार्टीले आत्मसात गर्नुुपर्नेमा उहाँले जोड दिनुभयो । कार्यक्रममा तुलसी आचार्य, गणेश बहादुर पतनी, शम्भुराज अधिकारी, नारायणी पौडेल, डिल्लीराज गिरी(दिनेश), जंगबहादुर रानाभाट लगायतले तल्लो तहका कार्यकर्ताको भावनालाई बुुझ्न नेतृत्वलाई आग्रह गर्नुभएको थियो ।

Advertisment