पोखरा, ८ असोज,
कास्कीको अन्नपूर्ण गाउँपालिकास्थित पर्यटकीय गाउँ घान्द्रुक जाने सडकको अवरोध साढे दुई महिनापछि हटेको छ ।
गत असार अन्तिम हप्ता अविरल वर्षाले नयाँपुल–बिरेठाँटी–घान्द्रुक सडकखण्डअन्तर्गत अन्नपूर्ण १०, किलुमा सडक भासिएकोमा मर्मत सम्भारपछि मंगलबारदेखि पुनः सूचारू भएको हो । सडकको बीचको भाग भासिँदा एकतिरको गाडी अर्कोतिर जान नसक्ने समस्या थियो । घान्द्रुक जाँदा आधा बाटोसम्म एउटा गाडीमा जाने र त्यसपछि पारिपट्टि रहेको गाडी प्रयोग गर्नुपर्ने बाध्यता थियो । भीरबाट ग्याबिन जालीसहित पर्खाल लगाएर सडक मर्मत गरिएको छ ।
पूर्वाधार विकास कार्यालय कास्कीको २५ लाख रूपैयाँ र दुई लाख २५ हजार रूपैयाँ बराबरको स्थानीय जनश्रमदानबाट गरेर करिब २७ लाख २५ हजार रूपैयाँ लगानी गरेरमा सडक मर्मत गरिएको हो । सडक खुलेपछि अब पर्यटक एवम स्थानीयले यातायातको प्रयोग गर्न पाउने भएका छन् ।