अन्नपूर्ण आरोहणको ७५ वर्ष पुगेको अवसरमा पांचौं अन्नपूर्ण म्याराथनलाई हीरक महोत्सवको रुपमा मनाईंदै, तयारी पुरा

अन्नपूर्ण म्याराथन–२०८२ जेठ २०

पोखरा । अन्नपूर्ण सेन्चुरी पर्यटन समितिको नियमित वार्षिक कार्यक्रम अन्तर्गत यस वर्षको पाँचौं अन्नपूर्ण म्याराथन–२०८२ आगामी जेठ २० गते, मंगलबार अन्नपूर्ण आधार शिविर देखि घान्द्रुकसम्मको ४२.१९५ किलोमिटर दूरीमा आयोजना हुने भएको छ ।

“पर्यटनका लागि सबै मौसम” भन्ने नारासहित आयोजना हुने यस म्याराथनबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा संयोजक ललित गुरुङले म्याराथनको तयारी करिब ९० प्रतिशत  पुरा भइसकेको जानकारी दिएका छन् ।

सन् १९५० जुन ३ तारिखका दिन फ्रान्सेली पर्वतारोही मौरिस हर्जोगको टोलीले विश्वकै पहिलो ८ हजार मिटरभन्दा अग्लो हिमाल अन्नपूर्ण प्रथम (८०९१ मि) को सफल आरोहण गरेको ७५ वर्ष पुगेको अवसरमा यस वर्षको म्याराथनलाई हीरक महोत्सवका रूपमा मनाइने भएको छ ।

म्याराथन मार्ग र उद्देश्य
म्याराथन अन्नपूर्ण आधारशिविर (४१३० मि) बाट सुरु भई माछापुच्छ्रे आधारशिविर, देउराली, दोभान, बम्बो, छोम्रोङ, घुर्जुङ, मेलाँचे, किम्रोङखोला हुँदै घान्द्रुकस्थित श्री मेश्राम वराह माविको खेल मैदानमा समाप्त हुनेछ । म्याराथनले अन्नपूर्ण पदमार्गको पूर्वाधार विकास तथा समग्र पर्यटन प्रवर्द्धनमा योगदान पु¥याउने उद्देश्य राखिएको छ ।

सहभागिता र पुरस्कार
हालसम्म ६० जना धावकले नाम दर्ता गराइसकेका छन्, जसमा १० जना विदेशी धावक पनि सहभागी छन् । महिला तथा पुरुष दुवै तर्फ छुट्टाछुट्टै प्रतिस्पर्धा हुने म्याराथनमा सहभागी दर्ता शुल्क रु. ७ हजार निर्धारण गरिएको छ ।

मुख्य पुरस्कारहरु
प्रथम पुरस्कार : रु. १,५०,०००
द्वितीय पुरस्कार : रु. १,००,०००
तृतीय पुरस्कार : रु. ७५,०००
(पदक र प्रमाणपत्र प्रदान गरिनेछ)

विशेष पुरस्कारहरू
अन्नपूर्ण गाउँपालिका प्रथम धावकलाई विशेष पुरस्कार
गण्डकी प्रदेश प्रथम धावकलाई विशेष पुरस्कार
महिलातर्फ लगातार तीन पटक सहभागी हुनेलाई विशेष पुरस्कार
विदेशी (महिला तथा पुरुष) प्रथम धावकलाई विशेष पुरस्कार
डायमण्ड जुब्ली अवार्डः ७५औं स्थान प्राप्त धावकलाई प्रदान गरिने

अन्य आकर्षण
अन्नपूर्ण पत्रकारिता पुरस्कार–२०८२
विविध सांस्कृतिक कार्यक्रमहरू

आयोजना लागत र सहयोगी संस्थाहरू
म्याराथन सफलतापूर्वक सम्पन्न गर्नका लागि करिब ३८ लाख रुपैयाँ लाग्ने अनुमान गरिएको छ। अन्नपूर्ण गाउँपालिका, नेपाल पर्यटन बोर्ड, पोखरा महानगरपालिका, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप), राष्ट्रिय खेलकुद परिषद्, गण्डकी प्रदेश खेलकुद परिषद् लगायत विभिन्न पर्यटनसँग सम्बन्धित संघसंस्थाहरूको सहयोग रहने अपेक्षा गरिएको छ ।

म्याराथनको सम्पूर्ण प्राविधिक पक्ष अल्टिमेट एडभेन्चर नेपालले सम्हाल्नेछ भने कार्यक्रमको व्यवस्थापनका लागि ५०१ सदस्यीय मूल समिति र १३ उपसमिति गठन गरिएको छ।

प्रतियोगिताका संयोजक ललित गुरुङले पत्रकार सम्मेलनमार्फत विगतका संस्करणहरूलाई संचार माध्यममार्फत सफल बनाउन सहयोग पुर्‍याउने सम्पूर्ण पत्रकार तथा संलग्न पक्षप्रति आभार प्रकट गर्दै आगामी दिनमा पनि यस्तै सहयोगको अपेक्षा व्यक्त गरेका छन् ।

त्यसै गरी म्याराथनका रेस डाइरेक्टर रिक्की योञ्जनले प्रतियोगितामा सुरक्षाको दृष्टिकोणले पूर्ण प्रविधि मैत्री बनाइएको बताए । उनले हरेक खेलाडीहरुको ‘डाटा’को आधारमा सबैको समय र स्थानको जानकारी लिने हिसावले तयारी गरेको जानकारी दिए ।

सो अवसरमा संस्थाका सचिब विकास गुरूङ र प्रचार प्रसार समितिका संयोजक टंक अधिकारीले समेत् आफ्ना भनाई राखेका थिए । फोटो – अमृत गुरुङ

Advertisment