दशैंको बेला माछापुच्छ्रे मा.विमा पूर्व विद्यार्थी मञ्चको पुनर्मिलन तथा सम्मान कार्यक्रम

पोखरा ।  माछापुच्छ्रे माध्यमिक विद्यालय (मा.वि.) पूर्व विद्यार्थी मञ्च ढिकुरपोखरीद्वारा प्रत्येक वर्ष विजया दशमीको द्वादशीका दिन आयोजना हुँदै आएको पुनर्मिलन, शुभकामना आदान–प्रदान एवं सम्मान कार्यक्रम सम्पन्न भएको छ।

शनिबार विद्यालय परिसरमा सम्पन्न कार्यक्रममा आठौँ अधिवेशनसमेत गरिएको मञ्चका अध्यक्ष विष्णुप्रसाद अधिकारीले जानकारी दिएको छ । संस्थापनाकालदेखि निरन्तरता पाउँदै आएको यो कार्यक्रमले पूर्व विद्यार्थीबीच आत्मीयता वृद्धि गर्नुका साथै विद्यालयप्रतिको योगदानमा सक्रियता बढाउन महत्वपूर्ण भूमिका खेलेको छ। कार्यक्रममा बडादशैँ, तिहार, छठ, नेपाल संवत ११४६ र ल्होसारलगायतका पर्वको अवसरमा शुभकामना आदान–प्रदान गरिएको थियो।

कार्यक्रममा आधारभूत तह, एसईई र माध्यमिक तहमा सर्वोत्कृष्ट अंक ल्याउने विद्यार्थीहरूलाई सम्मान गरिएको थियो। आधारभूत तहतर्फ सरिता देवकोटा, विन्ती भण्डारी र गौरव ढकाल, एसईईतर्फ सलिजा अधिकारी र सुविद शर्मा तथा माध्यमिक तहतर्फ दिपा अधिकारी र नितेश बि.क.लाई नगद, सम्मानपत्र र मायाको चिनो प्रदान गरिएको थियो।

विद्यार्थी मात्र नभई विद्यालयमा सतप्रतिशत उत्तीर्ण गराउन सफल शिक्षक छविराज अधिकारी (अर्थशास्त्र) र गोविन्द मणि पौडेल (व्यावसायिक अध्ययन)लाई पनि सम्मान गरिएको थियो। त्यस्तै समाजका विशिष्ट सदस्य लोकराज भण्डारी र उत्कृष्ट अभिभावकका रूपमा हरिमान गुरुङलाई विशेष सम्मान गरिएको थियो।

कार्यक्रमका प्रमुख अतिथि मञ्च सदस्य जगन गुरुङले २० वर्षअघि पूर्व विद्यार्थी मञ्च स्थापना भएको स्मरण गर्दै यस संस्थाले विद्यालय सुधार र समुदायमा योगदान पुर्‍याउन महत्त्वपूर्ण भूमिका खेलेको बताए। उनले पूर्व विद्यार्थीहरूलाई अनुभव, सिकाइ र उपलब्धिहरू साझा गरेर विद्यालयको उत्थानमा सक्रिय बन्न आग्रह गरे।

मञ्चका संस्थापक अध्यक्ष डा. गिरधारी दाहाल, पूर्व अध्यक्ष गायत्री पराजुलीलगायतका वक्ताहरूले विद्यालय सुधारमा पूर्व विद्यार्थीहरूको सहभागिता अझ बढाउनुपर्नेमा जोड दिए। अध्यक्ष विष्णुप्रसाद अधिकारीले पनि पूर्व विद्यार्थीलाई संगठित गरी विद्यालय सुधारमा प्रत्यक्ष लगानी गर्नुपर्नेमा जोड दिंदै चाडपर्वहरूले सत्य, सत्मार्ग र ऐक्यबद्धताको प्रेरणा दिने बताए।

आठौँ अधिवेशनले फणिन्द्र अधिकारीलाई अध्यक्ष चयन गर्दै नयाँ कार्यसमिति गठन गरेको छ। समितिको उपाध्यक्षमा रमेशराज भण्डारी, महासचिवमा हरिप्रसाद भण्डारी, सचिवमा भुमिराज अधिकारी, कोषाध्यक्षमा सोभाखर अधिकारी तथा सदस्यमा कमला सुवेदी पौडेल, कृष्ण प्रसाद भण्डारी र हरिराम भण्डारी निर्वाचित भएका छन्। बाँकी सदस्यहरू समावेशिकता र क्षेत्रगत सन्तुलन मिलाएर थप गरिने भएको छ।

विद्यालयको तथ्याङ्कअनुसार २०३२ सालमा पहिलो एसएलसी सञ्चालन भएदेखि हालसम्म ७ हजारभन्दा बढी विद्यार्थीले एसएलसी/एसईई र ८ हजारभन्दा बढीले माध्यमिक तहमा भर्ना भएर अध्ययन गरिसकेका छन्। पूर्व विद्यार्थी मञ्चद्वारा निरन्तर आयोजना हुने पुनर्मिलन तथा सम्मान कार्यक्रममा सहभागिता बढ्दै गएकाले विद्यालयलाई थप प्रेरणा दिने विश्वास लिइएको छ ।

Advertisment