प्रजातन्त्रका सेनानी चित्रबहादुर गुरुङलाई पत्निशोक, किन खोजियो कांग्रेस नेताहरु

युनाईटेड खबर, पोखरा ।

नेपाली कांग्रेसका पुराना नेता एवं प्रजातन्त्रका सेनानी चित्रबहादुर गुरुङलाई पत्निशोक परेको छ । गुरुङकी पत्नी चित्रकुमारी गुरुङको ७८ वर्षको उमेरमा शुक्रबार कास्कीको अन्नपूर्ण गाउँपालिका-४, भदौरेस्थित आफ्नै निवासमा दुःखद निधन भएको परिवारले जानकारी दिएको थियो ।

दिवङ्गत चित्रकुमारी गुरुङ तान्चोक कोट गाउँ, अन्नपूर्ण गाउँपालिका–७, कास्की निवासी साहु स्व. धनबर गुरुङकी माहिली छोरी हुनुहुन्थ्यो । उहाँको निधनले गुरुङ परिवार र स्थानीय समुदाय शोकमा डुबेको छ ।

पञ्चायतकालदेखि नै कांग्रेस संगठनमा ठूलो योगदान

चित्रबहादुर गुरुङको परिवार नेपाली कांग्रेसमाथि प्रतिबन्ध लागेको तत्कालीन पञ्चायती शासनकालदेखि नै पार्टीको संगठन निर्माण र विस्तारमा सक्रिय रहँदै आएको इतिहास छ । साविकको भदौरे तामागी गाविस (हाल अन्नपूर्ण गाउँपालिका-४, भदौरे) मा रहेर यो परिवारले कांग्रेसको संगठन तथा प्रजातान्त्रिक आन्दोलनमा पुऱ्याएको योगदान अतुलनीय मानिन्छ । पञ्चायतकालको कठिन परिस्थितिमा धेरै कांग्रेस नेताहरूलाई गुरुङको परिवारले संरक्षण र आश्रय दिएको पुराना नेता तथा कार्यकर्ताहरू स्मरण गर्छन् ।

बिरामी अवस्थामा रहेका नेता गुरुङलाई थप बज्रपात

लामो समयदेखि बिरामी परेर घरमै स्वास्थ्यलाभ गरिरहनुभएका प्रजातन्त्रका सेनानी चित्रबहादुर गुरुङलाई पत्नी वियोगले थप मर्माहत बनाएको छ । स्व. चित्रकुमारीका श्रीमान् चित्रबहादुर र एक छोरी हुनुहुन्छ ।

भदौरे देउरालीमा अन्त्येष्टि, वडाध्यक्ष आइन्दलले सम्हाले संस्कार

दिवङ्गत चित्रकुमारी गुरुङको अन्तिम संस्कार शुक्रबार दिउँसो भदौरे देउरालीमा धार्मिक परम्परा अनुसार सम्पन्न गरिएको छ । स्व. गुरुङको मृत्युपछिको संस्कार (काजक्रिया) उहाँका भतिजा एवं अन्नपूर्ण गाउँपालिका वडा नं. ४ का वडाध्यक्ष आइन्दल गुरुङले गर्ने पारिवारिक स्रोतले जनाएको छ ।

नेताहरू उपस्थित नहुँदा स्थानीय कार्यकर्तामा निराशा र गुनासो

कास्की जिल्लाको अन्नपूर्ण गाउँपालिका कांग्रेसका धेरै प्रभावशाली नेताहरू भएको र जिल्लादेखि केन्द्रसम्म राम्रो प्रभाव राख्ने क्षेत्रका रूपमा चिनिन्छ । यद्यपि, यति ठूलो योगदान पुऱ्याएको परिवारमा शोक पर्दा र चित्रकुमारीको निधन हुँदा नेपाली कांग्रेसका जिल्ला, क्षेत्रियस्तरका नेताहरू उनको निवासमा सान्त्वना दिन नपुगेको भन्दै स्थानीय कांग्रेस कार्यकर्ताहरूले चिन्ता र चित्तदुखाइ व्यक्त गरेका छन् ।

स्व. गुरुङका आफन्त एवं अन्नपूर्ण गाउँपालिकाका कांग्रेस नेता राजबहादुर गुरुङसँग स्थानीय कार्यकर्ताहरूले यसबारे तीव्र गुनासो पोखेका थिए । “यस क्षेत्रमा कांग्रेसका लागि जीवन र जवानी सुम्पेर महत्त्वपूर्ण योगदान दिनुभएका चित्रबहादुर बुवाको घरमा यति ठूलो शोक परेको बेला जिल्ला वा क्षेत्र तहबाट समेत कोही कांग्रेस नेताहरू सान्त्वना दिन नआउँदा मन निकै रोयो,” एक स्थानीय युवाको भनाइ रहेको थियो।

यसैबीच, नेपाली कांग्रेसका स्थानीय नेता-कार्यकर्ता तथा शुभेच्छुकहरूले स्व. चित्रकुमारी गुरुङको आत्माको चिर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गरेका छन् ।

Advertisment