काठमाडौँ । काठमाडौँको तारकेश्वरमा घरायसी विवादका क्रममा श्रीमतीमाथि धारिलो हतियार (चक्कु) प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले ‘नेपाली ब्रो’ उपनामले चिनिने कुमार थापा मगरसहित चार जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार जेठ २२ गते राति तारकेश्वर नगरपालिका–६, पैंयुटारमा ३८ वर्षीय कुमार थापा मगरले आफ्नै श्रीमती ईश्वरी भुजेललाई चक्कु प्रहार गरेका थिए ।
चक्कु प्रहारबाट गम्भीर घाइते भएकी उनलाई तत्काल उपचारका लागि तारकेश्वर सिटी अस्पताल लगिएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि त्रि.वि. शिक्षण अस्पताल (टिचिङ) महाराजगंज पुर्याइएकोमा उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनालगत्तै खटिएको प्रहरी टोलीले सोही राति ११ बजे कुमार थापा मगरलाई नियन्त्रणमा लिएको थियो । यस्तै, उक्त हत्या घटनामा संलग्न रहेको भन्दै परेको किटानी जाहेरीका आधारमा प्रहरीले थप तीन जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्ने अन्य अभियुक्तहरूमा ३६ वर्षीय विक्रम थापा मगर, ४० वर्षीय पुजन थापा क्षेत्री र जुम्ला घर भई गोकर्णेश्वर बस्ने २५ वर्षीया प्रतिक्षा आचार्य रहेका छन् ।
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवन कुमार भट्टराईले चारै जनालाई काठमाडौँ जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी हिरासतमा राखिएको बताए । उनीहरूमाथि कर्तव्य ज्यान मुद्दामा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।



