पोखरा पर्यटन परिषद्को अध्यक्षमा भुजेल निर्वाचित

पोखरा । पोखरेली पर्यटन व्यवसायी संस्थाहरूको छाता संगठन पोखरा पर्यटन परिषद्को अध्यक्षमा हरि भुजेल निर्वाचित भएका छन्। परिषद्को २६औं वार्षिक साधारण सभा तथा १४औं अधिवेशनबाट भुजेलको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो।

आज सम्पन्न पदस्थापन कार्यक्रममा नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) का हरिराम अधिकारी प्रथम उपाध्यक्ष र ट्रेकिङ इक्युपमेन्ट सप एसोसिएसन (टेसा) का नारायणप्रसाद सुवेदी द्वितीय उपाध्यक्षमा निर्वाचित भएका छन्।

नेपाल एसोसिएसन अफ राफ्टिङ एजेन्ट्स (नारा) का मिलन तिवारी महासचिव, नेपाल टुरिस्ट भेहिकल एसोसिएसन (एनटिभीए) का बाबुराम पाण्डे सचिव, गाउँ पर्यटन प्रवर्द्धन मञ्च (भिटोफ) की शोभाकुमारी अधिकारी सापकोटा सहकोषाध्यक्ष, नेपाल पर्वतारोहण संघ (एनएमए) का जीवनराज सापकोटा कार्यकारी सदस्य र नेपाल हवाई खेलकुद संस्था (एनएए) का सुनिलबहादुर भट्टराई सदस्यमा निर्वाचित भएका छन्।

बाढीपहिरोका कारण नेपालबारे गएको नकारात्मक सन्देश चिर्दै सुरक्षित र सञ्चालनमा रहेका गन्तव्यबारे पर्यटकलाई स्पष्ट जानकारी दिनुपर्नेमा नवनिर्वाचित अध्यक्ष हरि भुजेलले जोड दिए । यसका लागि सरकार र निजी क्षेत्रबीच समन्वय आवश्यक रहेको उनले बताए। पोखरालाई अन्तर्राष्ट्रिय पर्यटन हबका रूपमा विकास गर्न हवाई सम्पर्कलाई प्रभावकारी बनाउने र फ्लाई दुबईको उडान सफल पार्ने योजना पनि उनले बताए।

साथै पोखरालाई वेलनेस र सांगीतिक गन्तव्यका रूपमा विकास गर्दै अन्तर्राष्ट्रियस्तरका सांगीतिक कार्यक्रम ल्याउने योजना पनि उनलेबताए।

परिषद्मा गण्डकीलाई कार्यक्षेत्र बनाएर पोखरामा रहेका १४ वटा पर्यटनसम्बद्ध संस्थाका प्रतिनिधि सदस्य रहनेछन्।

Advertisment