अस्पतालबाट डिस्चार्ज भए कास्की -२ का कांग्रेस उमेदवार बाँस्तोला, शनिबारदेखि नै चुनाबी अभियानमा केन्द्रित हुने

पोखरा, नेपाली काँग्रेसको तर्फबाट कास्की जिल्लाको निर्वाचन क्षेत्र नम्बर २ मा उमेदवार बनेका माधव प्रसाद बास्तोला (मधु) अस्पतालबाट डिस्चार्ज भएका छन् । चुनाब प्रचार प्रसार तथा मतदातासंग भेटघाट गर्ने क्रममा लडेर घाइते भएका बास्तोला पांच दिनको अस्पताल बसाईपछी शुक्रबार घर फर्किएका छन । शनिबार देखि नै बास्तोलाले घरदैलो अभियानमा सकृय हुने समाचार प्राप्त भएको छ ।

गत माघ २६ गते आइतबार साँझ चुनावी अभियान र नागरिक भेटघाटका क्रममा पोखरा ११ फुलबारीमा लडेर घाइते भएका बाँस्तोलाको बायाँ हातको नाडी माथिको हड्डी (रेडियस) भाँचिएको थियो । घाइते भएलगत्तै उनलाई मणिपाल शिक्षण अस्पताल भर्ना गरिएको थियो ।

अस्पतालका निर्देशक प्राडा अभिषेक मास्केका अनुसार माघ २६ गते नै उनको हातको सफल शल्यक्रिया गरिएको थियो । ५ दिनको नियमित उपचार र चिकित्सकको निगरानीपछि बास्तोलाको स्वास्थ्यमा उल्लेख्य सुधार आएपछी डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ ।

बास्तोलाले आफ्नो संकल्प र राजनीतिक प्रतिबद्धतालाई शरीरमा लागेको चोटले कमजोर नबनाएको बताउंदै अब चिकित्सकको सल्लाह अनुसार आवश्यक उपचार र विश्रामपछि अझ दृढ आत्मविश्वासका साथ निर्वाचन अभियानमा फर्किने प्रतिबद्धता ब्यक्त गरे । बास्तोलाले आफूलाई माया र हौसला दिने मतदाता, पार्टीका नेता, कार्यकर्ता र परिवारप्रति आभार समेत प्रकट गरेका छन् ।

सचिवालयका अनुसार बास्तोला शनिबारदेखि कास्की निर्वाचन क्षेत्र नम्बर २ का विभिन्न स्थानमा आयोजना हुने घरदैलो र चुनावी सभाहरूमा सहभागी हुनेछन् । उनी घाइते भएपछि पनि उनका प्रतिनिधि र कार्यकर्ताहरूले चुनावी अभियानलाई निरन्तरता दिएका थिए । यसै क्रममा कास्की -२ अन्तर्गत पर्ने पोखरा महानगरपालिका -३३ मा पनि नेपाली काँग्रेसले सम्पर्क कार्यालय स्थापना गरेको छ।

उमेद्वार बाँस्तोलाको अनुपस्थिति रहेपनि कांग्रेसका अन्य नेताहरु सहित स्थानीय कार्यकर्ता र सर्बसाधारणको उल्लेखनीय उपस्थितिमा उक्त कार्यालयको उद्घाटन गरिएको पोखरा महानगरपालिकाका सचिब टुकराज बास्तोलाले जानकारी दिएकाछन्  । फोटो : बिश्व बास्तोलाको वालबाट

Advertisment