पोखरा, सुरेन्द्रराज पाण्डे नेतृत्वमा रहेको गण्डकी प्रदेश सरकारमा मन्त्रीहरुको फेरबदल भएको छ। नयाँ बर्षको आगमनसंगै प्रदेश सरकारमा नयाँ मन्त्रीहरुको चयन पछि प्रदेश सरकारको काम कारबाहीलाई थप प्रभावकारी बन्ने अपेक्षा गरिएको छ । नयाँ मन्त्रीहरुको शपथ आज बुधबार भएको छ।
९ सदस्यीय मन्त्रीमण्डलमा नेपाली काँग्रेसको तर्फबाट ५ जना र नेकपा एमालेको तर्फबाट ४ जना मन्त्री राखेर नयाँ मन्त्रीमण्डल बनाउने तयारीमा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे रहेका छन। एमाले र कांग्रेस बिचको विगतमा भएको सहमति अनुरुप नै मन्त्रीमण्डलमा मन्त्रीहरुको संख्या निर्धारण गरिएको जनाएको छ ।
मन्त्रीमण्डलमा नेकपा एमालेको तर्फबाट गोविन्द बहादुर नेपालीलाई भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय, यशोदा रिमाललाई उद्योग तथा पर्यटन मन्त्रालय, लक्ष्मण पाण्डेलाई कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय र भीम कार्कीलाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिईएको छ ।
यसैगरी नेपाली कांग्रेसका तर्फबाट जित शेरचनलाई अर्थ मन्त्रालय, नन्दप्रसाद न्यौपानेलाई ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालय, रेखा गुरुङलाई सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालय र नम्डु गुरुङलाई वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिईएको छ ।
यसअघि नेकपा एमालेबाट कृषि मन्त्रालयमा पद्मा जिसी, स्वास्थ्य मन्त्रालयमा कृष्ण पाठक, भौतिक मन्त्रालयमा प्रकाश केसी र पर्यटन मन्त्रालयमा मित्रलाल बस्यालले मन्त्रीको जिम्मेवारी सम्हालेका थिए।
यसैगरी नेपाली काँग्रेसको तर्फबाट मन्त्री बनेका डा. टकराज गुरुङले अर्थ मन्त्रालय, विन्दुकुमार थापाले सामाजिक विकास मन्त्रालय र भेषबहादुर पौडेलले वन तथा वातावरण मन्त्रालय सम्हालेका थिए । ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयको जिम्मेवारी भने मुख्यमन्त्री सुरेन्द्र पाण्डेले आँफैले सम्हाल्दै आएका थिए ।




