अविरल वर्षापछि बाढी र पहिरोले पाँचथरका विभिन्न स्थानमा तहस नहस

पाँचथर, जेठ ९ गते । शुक्रबार राति अविरल वर्षापछि आएको बाढी र पहिरोले पाँचथरका विभिन्न स्थानमा ठूलो क्षति पुर्‍याएको छ । याङवरक गाउँपालिका र हिलिहाङ गाउँपालिकाका विभिन्न क्षेत्रमा घर, झोलुङ्गे पुल तथा निर्माणाधीन पुल बगाउँदा जनजीवन प्रभावित बनेको छ ।

जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायब उपरीक्षक अनिषकुमार कर्णका अनुसार बाढीपहिरोबाट याङवरक गाउँपालिका–१ लम्बा खोलामा माथिबाट आएको पहिरोले स्थानीय मोहनलाल खवासको जस्तापाताले छाएको, ढुङ्गा–माटोको गारो भएको दुईतले घर पूर्ण रूपमा बगाएको छ । उक्त स्थानकै ४४ वर्षीय कवीर खवासको दुईतले घर पनि पहिरोले बगाएको प्रहरीले जनाएको छ । पहिरोसँगै आएको बाढीले उहाँको गाईगोठमा बाँधिएका तीन वटा गोरुसमेत बगाएको छ ।

यसैगरी, याङवरक गाउँपालिका–१ कोक्चे निवासी ५२ वर्षीय गङ्गाप्रसाद बेघाको ढुङ्गा–माटोको गारो र चित्राको बेराले बनाइएको दुईतले घर बगाएको छ । यसै गरी याङवरक–१ लामिटारस्थित भित्री सडक खण्डमा लामिटारबाट चाम्लिङडाँडा जोड्ने करिब १०० मिटर लम्बाइको फलामे झोलुङ्गे पुलमा समेत बाढीले क्षति पुर्‍याएको छ । पुल क्षतिग्रस्त भएपछि स्थानीयको आवतजावतमा समस्या भएको छ ।

उता, हिलिहाङ गाउँपालिका–२ लिम्बुनी पुलस्थित तमोर कोरिडोर सडक खण्डमा निर्माणाधीन बेली ब्रिजमा पनि बाढीले ठूलो क्षति पुर्‍याएको छ । तमोर नदीमा याक्थुङहाङ निर्माण सेवा कम्पनीले निर्माण गरिरहेको ७७ दशमलव ५ मिटर लम्बाइ र ११ मिटर चौडाइको पक्की पुलका पिलर तथा निर्माण सामग्री बाढीले बगाएको प्रहरीले जनाएको छ ।

त्यस्तै, याङवरक गाउँपालिका–२ दोभानस्थित पुष्पलाल मध्यपहाडी लोकमार्गअन्तर्गत मेवा खोलामा निर्माणाधीन पक्की पुल पनि बाढीसँगै आएको ढुङ्गा, माटो र पानीले बगाएको छ । करिब ४१ फिट लामो उक्त पुल पूर्ण रूपमा बगेपछि सवारीसाधन सञ्चालन ठप्प भएको छ । निर्माणाधीन पुलनजिकै रहेको फलामे झोलुङ्गे पुलमा समेत क्षति पुगेको प्रहरीले जनाएको छ ।

Advertisment