नेपाली प्रतिनिधी मण्डलबाट चिनियां आधुनिक कृषि प्रविधि अवलोकन, नेपालले उत्पादनमा धेरै सिक्न सकिने

राज बहादुर गुरुङ, चीन (याआन) । अप्रिल महिनाको वसन्त ऋतुमा चिनियाँ सहर याआन (Yaan) का चिया बगानहरू नयाँ पालुवाका कारण हरियाली बनेका थिए । यसै समयमा मिङ्सान जिल्लाका स्थानीय पार्टी सचिवद्वय वु होङचिन र झान जाओजीले चिया बगानमा एउटा विशेष उपहार प्राप्त गरे— नेपालको नुवाकोट जिल्ला, म्यागाङ गाउँपालिकामा उत्पादित हरियो चिया (Green Tea) को एक प्याकेट ।
हिमालय पार गरेर गएको यो चिया केवल उपहार मात्र थिएन, यो त चीनको प्रविधि सिकेर नेपाली किसानले हासिल गरेको सफलताको एउटा अनुपम “गृहकार्य” थियो।

चीनको प्रविधि, नेपालको उत्पादन: कमल बहादुरको कथा

यो विशेष उपहार ‘२०२६ चीन (सिचुआन)- नेपाल कृषि प्राविधिक तालिम’ मा सहभागी हुन पुगेका नेपाली प्रशिक्षार्थी कमल बहादुर तामाङले लगेका हुन् । चीन ग्रामीण विकास प्रतिष्ठान (CFRD) को सहयोगमा गत वर्ष याआनमा चिया उद्योगको तालिम लिएर फर्किएका तामाङको गाउँमा पहिले चिया खेती त थियो, तर उपयुक्त प्रविधि र बजार व्यवस्थापनको अभाव थियो।
याआनका आधुनिक र सूक्ष्म व्यवस्थापनका विधिहरू सिकेपछि तामाङले आफ्नो गाउँमा चिया खेतीको शैली नै बद्लिदिए। CFRD को प्राविधिक कार्यशालाको सहयोगमा उनको गाउँको चिया उत्पादन ३ टनबाट बढेर १० टन पुग्यो र चियाको गुणस्तरमा व्यापक सुधार आयो। हाल त्यहाँका स्थानीय महिलाहरूले उत्पादन गरेको चिया काठमाडौँको बजारसम्म पुग्न थालेको छ र उनको गाउँ “ऊर्जावान् गाउँ” (Vibrant Village) को रूपमा चिनिन थालेको छ।
चियादेखि अन्य विशिष्ट कृषि क्षेत्रसम्मको विस्तार
गत वर्षको तालिम केवल चिया उद्योगमा केन्द्रित थियो भने, यस वर्ष अप्रिल २० देखि सुरु भएको एक हप्ता लामो तालिममा नेपालका १५ जना सरकारी अधिकारी, विज्ञ र प्राविधिकहरू सहभागी थिए। यस पटक नेपाली टोलीले चियाबाहेक याआनका अन्य आधुनिक कृषि प्रविधिहरूको पनि अवलोकन गरेको थियो:
शिमियन काउन्टी: यहाँ टोलीले आधुनिक ‘लोक्वाट’ (Loquat) खेतीको अवलोकन गरेको थियो। नेपालको जलवायु र माटोको अवस्था यस क्षेत्रसँग मिल्दोजुल्दो भएकाले नेपाली प्रतिनिधिहरूले भविष्यमा यसको खेती नेपालमा पनि विस्तार गर्ने इच्छा देखाएका थिए ।
• हानयुआन काउन्टी (छिङसी टाउन): प्रतिव्यक्ति जमिन कम भएतापनि बढी आर्थिक लाभ दिने ‘स्विट चेरी’ खेती र यसमा प्रयोग हुने आधुनिक हरितगृह (Greenhouse) तथा थोपा सिँचाइ (Drip Irrigation) प्रविधिबारे टोलीले जानकारी लिएको थियो ।
• शाही तिम्मुर कोसेली केन्द्र: नेपाली टोलीका लागि आधुनिक कृषिमा प्रयोग हुने मेसिनरी कटाई-छँटाई र ड्रोन सिँचाइ प्रविधिको प्रत्यक्ष प्रदर्शन गरियो, जसलाई नेपाली प्रशिक्षार्थीहरूले निकै चासोका साथ आ-आफ्नो क्यामेरामा कैद गरेका थिए ।
नेपाल कृषि अनुसन्धान परिषद् (NARC) का प्रशासनिक महाशाखा प्रमुख नविन प्रकाश पौडेलले भने, “मैले देखेँ कि याआनको कृषि बढी प्राविधिक छ र उत्पादनको स्तर उच्च छ पौडेलले भने नेपालले यसबाट धेरै कुरा सिक्न सकिन्छ।”
हिमालय पारिको कृषिको बलियो पुल नेपाल एक कृषि प्रधान देश हो जहाँको जीडीपी (GDP) मा कृषिको योगदान करिब २४% छ। नेपाल जस्तै पहाडी भूगोल भएको चीनको सिचुआन प्रान्तले विगत केही वर्षदेखि नेपाली कृषि प्राविधिकहरूलाई तालिम दिँदै आफ्नो ग्रामीण पुनरुत्थानको अनुभव साट्दै आएको छ।
सन् २०१९ मा याआन नगर र नेपालको घोराही उपमहानगरपालिका बीच मैत्रीपूर्ण सम्बन्ध स्थापना भएयता यो सहकार्य अझ मजबुत बन्दै गएको भ्रमणमा सहभागी घोराहीका मेयर टिकाराम खड्काको भनाई रहेको छ ।
“बेल्ट एण्ड रोड” (BRI) अवधारणा अन्तर्गत भइरहेको यो कृषि सहकार्यले नेपालको कृषिलाई आधुनिकीकरण, प्राविधिक रूपान्तरण र उत्पादकत्व बढाउन एउटा बलियो पुलको काम गरिरहेको चीन ग्रामीण विकास प्रतिष्ठान (CFRD) को नेपाल कार्यालयकी निर्देशक जोउ झिछियाङले जानकारी दिएकीछिन ।

Advertisment