काठमाडौँ । नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टीभित्र फैलाइएका विभिन्न हल्ला तथा महाधिवेशन केन्द्रित गतिविधिप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन्।
उनले आइतबार सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै खड्काले आफू र पार्टी सभापति गगन थापाबिच ३१ दिनदेखि कुनै पनि प्रकारको सम्पर्क वा संवाद नभएको समेत बताए। खड्काले पार्टीको एकता कायम गर्न विगत दुई महिनादेखि इमानदार प्रयास गरे पनि अपेक्षित प्रगति हुन नसकेको उल्लेख गरेका छन्। पछिल्ला केही दिनयता पार्टीका विषयमा वास्तविकताभन्दा फरक हल्ला फैलाइएको र त्यसले सङ्गठनभित्र अन्योल सिर्जना गरेको उनको भनाइ छ।
खड्काले विशेष गरी १५औँ महाधिवेशनलाई लक्षित गरी नवीकरण गरिएका तथा नयाँ क्रियाशील सदस्यहरूलाई ‘अद्यावधिक’को नाममा दबाब दिइएको भन्दै देशभरबाट आफूलाई गुनासा प्राप्त भएको बताए। यस्तो प्रवृत्ति पार्टी जीवनका लागि अत्यन्त घातक हुने उल्लेख गर्दै उनले सम्बन्धित पक्षको ध्यानाकर्षण गराए।
उनले महाधिवेशनका लागि नवीकरण गरिएका वा नयाँ क्रियाशील सदस्यता प्राप्त गरेका कुनै पनि सदस्यलाई अद्यावधिक नभएको बहानामा महाधिवेशनमा सहभागी हुनबाट वञ्चित गर्न नसकिने स्पष्ट पारे। सबै योग्य सदस्यको महाधिवेशनमा स्वतः सहभागिता सुनिश्चित गर्नु पार्टीको दायित्व रहेको उनको भनाइ छ।
त्यसैगरी नेताहरूको क्रियाशील सदस्यता केन्द्रले स्वतः अद्यावधिक गरिदिने भन्ने विषयमा पछिल्ला दिनमा फैलाइएका सूचनालाई पनि उनले ‘अफवाह’को संज्ञा दिएका छन्।



