समृद्धिको ढोका खोल्न नयाँ दिल्ली आएको हुँ : रवि लामिछाने

काठमाडौं । रास्वपाका सभापति रवि लामिछानेले आफूहरू सरकार सञ्चालनको सुरुवाती दिनमा रहेको बताएका छन्। दिल्लीमा आयोजित कार्यक्रममा बोल्दै हल्लाको पछाडि नलाग्न आग्रह गर्दै देशलाई निकास दिएरै छाड्ने बताए ।

उनले भने, ‘नयाँ दिल्लीमा राजनीतिक ढोका खोल्न त धेरै मानिसहरू आए, म यसपटक समृद्धिको ढोका खोल्न नयाँ दिल्ली आएको हुँ । समृद्ध नेपालको सपना हामीले सिङ्गो युगदेखि देखिरहेका थियौँ, त्यसमा सहकार्य गर्ने एजेण्डा बोकेर आएको हुँ। मेरो व्यक्तिगत माग मुद्दा केही पनि छैन, पार्टीगत माग मुद्दा केही पनि छैन । मेरा माग मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिमा मात्र केन्द्रित छ, त्यसैका लागि मात्र म दिल्ली आएको हुँ ।’

उनले आफ्नो यात्रामा व्यक्तिगत स्वार्थको लागि नभएको बताए । उनले थपे, ‘पछिल्लो १०(१२ वर्षमा भारतले विकास र समृद्धिको जुन फड्को मार्‍यो, हामी छेउमै बसेर हेरी मात्र रह्यौँ। अब सँगसँगै यात्रा गर्ने र समृद्धिको बाटोमा यात्रा गर्ने, ससाना कुराहरूलाई मिलाउँदै, सल्लाह गर्दै, संवाद गर्दै अगाडि जानेछौँ।’

विभिन्न कूटनीतिक च्यानलहरूलाई सक्रिय गराउँदै समृद्धिको खाका कोर्ने उद्देश्य बोकेर भारत भ्रमणमा आएको बताए। उनले रास्वपा नेतृत्वको सरकार सञ्चालनको सुरुवाती दिन भएकाले गर्नुपर्ने काम धेरै भएको बताए।

उनले भने, ‘हामी बाहेक सबै प्रतिपक्ष भएको त्यस किसिमको मत हामीले प्राप्त गरेका छौँ। त्यसकारणले कहिलेकाहीँ सरकारले केही गर्दैन कि, केही वातावरण बिग्रिन्छ कि भन्ने हल्ला कहिलेकाहीँ फैलिएर यहाँ तपाईँको कानसम्म पनि आइपुग्ला। त्यस्तो हल्लाको पछाडि लाग्नु जरुरी छैन। हामी पूर्ण प्रतिबद्ध भएर यो देशलाई विकास गर्न आएका छौँ ।’

Advertisment