पत्रकार नेपाललाई राेटरी जर्नाे अवार्ड 

पाेखरा । पाेखराका पत्रकार विजय नेपाललाई राेटरी जर्नाे अवार्ड प्रदान गरिएको छ।

रोटरी इन्टरनेशनल डिष्ट्रिक्ट ३२९२ (नेपाल–भुटान) द्वारा उनीसहित देशभरबाट सात जना पत्रकारलाई शुक्रबार काठमाडौमा आयाेजित समारोहमा नगद ५१ हजारसहित साे अवार्ड प्रदान गरिएको हो ।

पाल्पाकाे रिब्दीकाेट ७, मैनादी स्थायी घर भएका पत्रकार नेपाल पाेखरामा रही दुई दशकदेखि निरन्तर पत्रकारितामा क्रियाशील छन् । आदर्श समाजका कार्यकारी सम्पादक उनी राजधानी दैनिकका संवाददाता हुन्।

सोही समारोहमा काठमाडौंमा वरिष्ठ पत्रकार आदित्यमान श्रेष्ठलाई १ लाख १ हजार राशिकाे यज्ञप्रसाद आचार्य राेटरी लाइफ टाइम अचिभमेन्ट अवार्ड प्रदान गरियो ।

राेटरी जर्नाे अवार्ड प्राप्त गर्नेहरूमा गाेरखाका सुदीप कैनी, सिन्धुलीका सागर बुढाथाेकी, सुनसरीका विकल रेग्मी, ओखलढुंगाका सराेज ढुंगेल, काठमाडौंकी उर्वसी बस्न्यात र बाँकेकी रूपा गहतराज पनि छन् ।

समारोहका प्रमुख अतिथि राेटरी इन्टरनेशनल डाइरेक्टर नाेमिनी बासुदेव गाेल्यान, रोटरीका डिस्ट्रिक्ट गभर्नर विनोद कोइरालाले पत्रकारलाई पुरस्कृत गरे ।

पत्रकारितामार्फत समाजमा सकारात्मक सिर्जना गर्ने पत्रकारलाई राेटरीले सन् २०११ देखि राेटरी जर्नाे अवार्ड प्रदान गर्दै आएको छ। राेटरीले सेवा गर्ने क्षेत्रलाई आधार मानेर विभिन्न विधामा देशभरीबाट अनलाइन आवेदन माग गरेकाेमा छनाेट समितिले उत्कृष्ट पत्रकारकाे छनाेट गरेकाे राेटरी जर्नाे अवार्ड कमिटी अध्यक्ष सुरेश आचार्यले जानकारी दिए। फरक फरक विधामा ५० पत्रकार २६७ समाचार सामग्री प्रतिस्पर्धामा रहेकाे उनले बताए ।

जुरी प्यानल काेअर्डिनेटर वरिष्ठ पत्रकार तीर्थ काेइरालाले पत्रकारकाे क्षमता आधारमा निकै स्वच्छ र पारदर्शी ढंगले छनाेट गरिएको बताए ।

प्रमुख अतिथि गाेल्यानले पुरस्कृत पत्रकारलाई बधाई दिँदै यसबाट अब्बल र मेहनति पत्रकारलाई अझ अगाडि बढ्ने प्रेरणा मिल्ने बताए । उनले राेटरी एक इन्टरनेशनल संस्था भएको उल्लेख गर्दै समाजमा यसकाे कामबाट अहिले झन् पाेजेटिभ सुनिन थालेकाे बताए ।

कार्यक्रमका अध्यक्ष डिस्ट्रिक्ट गभर्नर विनाेद काेइरालाले राेटरीले समाजिक सेवा सँगसँगै पत्रकारलाई पनि बर्सेनि पुरस्कृत गर्दै आएको बताए । राेटरीका १२ लाख सदस्य रहेकाे उल्लेख गर्दै समाजमा भाेकेस्नल सर्भिसलाई विश्वास गर्ने उनकाे भनाइ थियो । उनले भने, राेटरीले पेसागत मर्यादालाई उच्च सम्मान गर्छ। राेटरीले स्वार्थभन्दा माथि उठेर श्रम, पैसा, समय र क्षमता समाजमा डाेनेट गर्ने काम गर्छ ।

Advertisment