पोखरा, भदौ १२ — लोकप्रिय मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले रसुवा लगायतका जिल्लाहरूमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि गण्डकी प्रदेश सरकारले प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा रु. ४ करोड प्रदान गर्ने निर्णय गरेको जानकारी दिनुभएको छ।
शुक्रबार एक सार्वजनिक अपिल जारी गर्दै गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्राकृतिक विपद्को यस कठिन घडीमा बाढीका कारण ज्यान गुमाउनेहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गर्नुभएको छ। उहाँले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै विपद्मा परेका नागरिकहरूको जीउधनको रक्षा सरकारको पहिलो प्राथमिकता भएको स्पष्ट पार्नुभएको छ।
सम्पर्कविहीनको खोजी र उद्धार तीव्र
धार्मिक तथा अन्य यात्राका क्रममा रसुवा र नुवाकोट पुगेका गण्डकी प्रदेशका कतिपय नागरिकहरू अझै सम्पर्कविहीन रहेको भन्दै मुख्यमन्त्री पाण्डेले गहिरो चिन्ता व्यक्त गर्नुभएको छ। सम्पर्कविहीन नागरिकहरूको खोजी, उद्धार तथा मृतकहरूको शव व्यवस्थापनका लागि संघीय सरकार र सम्बन्धित निकायहरूसँग निरन्तर समन्वय भइरहेको अपिलमा उल्लेख छ।
“रसुवा, नुवाकोट, धादिङ, गोरखा, चितवन र नवलपुरका स्थानमा आएको बाढी कुनै एक क्षेत्रको मात्र नभई सम्पूर्ण नेपालीको साझा पीडा र चुनौती हो,” मुख्यमन्त्री पाण्डेले अपिलमा भन्नुभएको छ, “संकटको यस घडीमा सबै एकजुट भएर पीडितको साथमा उभिनु हाम्रो मानवीय दायित्व हो।”
सहयोगका लागि आम नागरिक र संघसंस्थालाई आह्वान
विपद्को यस घडीमा जोखिममा परेकाको उद्धार, घाइतेको उपचार, सुरक्षित आश्रय र राहतको प्रबन्ध मिलाउन मातहतका निकायलाई निर्देशित गर्दै प्रदेश सरकारले आफ्नो सामर्थ्य अनुसार सहयोग गर्न प्रतिबद्धता जनाएको छ।
साथै मुख्यमन्त्री पाण्डेले प्रदेशभित्रका उद्योगी, व्यवसायी, राजनीतिक दल, नागरिक समाज, राष्ट्रसेवक, सामाजिक संघसंस्था, सञ्चारकर्मी तथा आम नागरिकलाई आ-आफ्नो ठाउँबाट राहत तथा सहयोग कार्यमा सक्रिय सहभागी हुन आह्वान गर्नुभएको छ।
संवेदनशील समयमा अपुष्ट सूचना र भ्रामक अफवाहको पछि नलागी आधिकारिक स्रोतबाट प्राप्त सूचना मात्र सम्प्रेषण गर्न आग्रह गर्दै मुख्यमन्त्रीले सबैलाई संयम र धैर्य कायम राख्न अपिल गर्नुभएको छ।




