पोखरा। अविरल वर्षाका कारण क्षतिग्रस्त बनेको अन्नपूर्ण गाउँपालिका-८ स्थित बीरेठाँटी तथा आसपासका क्षेत्रमा सडक पुनःनिर्माणको काम तीव्र पारिएको छ। बाढीले बीरेठाँटी बजारसँगै जोडिएको मुख्य सडक पूर्ण रूपमा बगाएपछि ठप्प बनेको सवारी आवागमन असोज पहिलो साताभित्र अस्थायी रूपमा भए पनि सञ्चालनमा ल्याउने लक्ष्यका साथ काम भइरहेको छ। 
गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर केसीका अनुसार भदौमा आएको भीषण वर्षा र बाढीले बीरेठाँटी र चिमरुङ क्षेत्रमा ठूलो क्षति पुर्याएको थियो। हाल असोजको पहिलो हप्तादेखि अन्नपूर्ण बेसक्याम्प र पर्यटकीय गाउँ घान्द्रुक जाने बाटो पुनः सञ्चालनमा ल्याउने गरी भदौ मसान्तभित्रै निर्माण सम्पन्न गर्ने गरी काम अगाडि बढाइएको छ। 
नेपाली सेनाको नेतृत्वमा भौतिक निर्माण
सडक पुनःनिर्माणको प्राविधिक तथा भौतिक संरचना निर्माणमा नेपाली सेनाको पश्चिम पृतनासंगको समन्वयमा भईरहेको जानकारी प्राप्त भएको छ। पृतनापति भोला थापाको निर्देशनमा सेनाको टोली प्रत्यक्ष रूपमा खटिएकोमा स्थानियले नेपाली सेनाको प्रसंशा गरेको छ। गत भदौ १० गते रसुवामा आएको बाढीका कारण केही जनशक्ति अन्यत्र पठाउनुपरेकाले हाल ३० जना नेपाली सेना निरन्तर निर्माणस्थलमा खटिएका छन्। 
नयाँ ट्रयाक खन्ने र तारजाली भर्ने काम जारी
बीरेठाँटी नाकामा तारजाली भरेर बाटो थिच्ने काम भइरहेको छ। कोटेशन आह्वान गरी प्रतिस्पर्धाका आधारमा ‘लामा एण्ड जीबी कम्पनी’ले जाली भर्ने काम गरिरहेको छ।
त्यसैगरी, चिमरुङदेखि तमुचोक हुँदै स्याउली बजार क्षेत्रमा नयाँ ट्रयाक खन्ने काम तीव्र रूपमा अगाडि बढाइएको गाउँपालिकाका प्रवक्ता भरतमान गुरुङले जानकारी दिएका छन्। 
चौतर्फी सहयोग र रकम परिचालन
अवरुद्ध सडक खुलाउन अन्नपूर्ण गाउँपालिका विपद् व्यवस्थापन समितिमार्फत रकम परिचालन गरी काम भइरहेको छ। यस संकटको घडीमा कास्कीका अन्य छिमेकी पालिकाहरू—माछापुच्छ्रे, रूपा र मादी गाउँपालिकाले आर्थिक सहयोग उपलब्ध गराएका छन्।
यस्तै, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (ACAP), स्थानीय होटल व्यवसायीहरू, विभिन्न संघ-संस्था तथा व्यक्तिगत तर्फबाट समेत आर्थिक तथा भौतिक सहयोग प्राप्त भइरहेको गाउंपालिकाले जनाएको छ। 
मुख्य पर्यटकीय सिजन सुरु हुनै लाग्दा पदमार्ग जोड्ने मुख्य सडक खुलाउन स्थानीय तह, सेना र सर्वसाधारणको संयुक्त प्रयास जारी रहेको छ ।




