पोखरा । नेवाः खलः कास्कीको आह्वान, लामाचौर नेवाः खलः गुठीको आयोजना तथा लामाचौर मिसाः पुचः र लामाचौर ल्याम्ह पुचःको सह-आयोजनामा यही असोज ३ गते २७ औं तायाः मचा (सापारु) नृत्य प्रतियोगिता २०८३’ हुने भएको छ। भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण देश शोकमा डुबेको भन्दै आयोजकले यस अघि घोषणा गरिएको भदौ २० गते को मिति सारेर असोज ३ गते शनिबारका लागि नयाँ मिति तय गरेको हो।
आयोजक लामाचौर नेवाः खलः गुठीको मूल समारोह समितिले भदौ १६ गते बैठक बसी भदौ महिनाभर कुनै पनि कार्यक्रम नगर्ने निर्णय गरेको थियो । पोखरा महानगरपालिका र स्थानीय सरकारको अनुरोध तथा राष्ट्रिय विपत्तिको यस घडीमा शोक मनाउन र राहत-उद्धारमा ऐक्यबद्धता जनाउन कार्यक्रम स्थगन गरिएको आयोजकले जनाएको छ।
झन्डै ४०० वर्ष पुरानो इतिहास बोकेको तायाः मचा नृत्य मनोरञ्जनका लागि नभई दिवंगत आत्माको स्वर्गवासको कामना गर्दै प्रदर्शन गरिने सांस्कृतिक परम्परा हो। असोज ३ गते पूर्व निर्धारित स्थान, समय र गोलाप्रथा अनुसार नै सञ्चालन हुने सो प्रतियोगितालाई यसपटक भोटेकोशी बाढीका मृतकहरूकै चिरशान्तिका लागि समर्पण गरिने भएको लामाचौर नेवाः खलः गुठीको मूल समारोह समितिका सचिब योगेन श्रेष्ठले युनाईटेड खबर लाई जानकारी दिनुभएको छ।
साथै, सामाजिक उत्तरदायित्व वहन गर्दै लामाचौर नेवाः खलः गुठीका ४० घरधुरी सदस्यहरूबाट सङ्कलित रु. ५५,५५५ (पचपन्न हजार पाँच सय पचपन्न) ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’मा जम्मा गर्ने निर्णय पनि गरिएको छ। आयोजकले विपत्तिमा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली, शोकसन्तप्त परिवारमा समवेदना, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै अहोरात्र खटिएका उद्धारकर्मीहरूमा सम्मान व्यक्त गरेको छ।




