युनाईटेडखबर, पोखरा । पोखराका प्रख्यात शिक्षासेवी, समाजसेवी तथा खेलकुद प्रेमी रूपबहादुर गुरुङ (रूपसर) को निधनमा विभिन्न संघसंस्थाहरूले गहिरो शोक तथा श्रद्धाञ्जली अर्पण गरेका छन्।
दिवंगत गुरुङको १३ दिने अर्घौं, काजक्रिया तथा पितृक्रिया बौद्ध धर्म गुरुहरूको विशेष पूजापाठसहित बुधबार र बिहीबार गरी दुई दिनमा सम्पन्न भएको छ।
बिहीबार उहाँको परिवारलाई श्रद्धाञ्जली अर्पण गर्न दिपज्योति तमु समाज, दिपमा विभिन्न खेलकुद तथा सामाजिक संघसंस्थाका प्रमुख एवं पदाधिकारीहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा जिल्ला खेलकुद विकास समिति कास्कीका अध्यक्ष मिलन गुरुङसहितका पदाधिकारीहरूले दिवङ्गत रूपसरकी धर्मपत्नी नरशोभा गुरुङ, छोराहरू राजेश गुरुङ र डा.अभिनाश गुरुङ तथा परिवारजनमा समवेदना तथा श्रद्धाञ्जली पत्र प्रदान गर्नुभएको थियो। 
त्यसैगरी, शोक सन्तप्त परिवारलाई समवेदना प्रकट गर्ने क्रममा भूतपूर्व खेलाडी मञ्चका अध्यक्ष दिलबहादुर गुरुङ, नेपाल सरकार गण्डकी खेलकुद परिषदका पुर्ब सदस्य-सचिब तेज बहादुर गुरुङ लगायत पोखराका विशिष्ट पूर्व खेलाडीहरूको समेत बाक्लो सहभागिता रहेको थियो।
साथै, बगर भाइ खलक पोखराका अध्यक्ष ईश्वर गुरुङ तथा पदाधिकारीहरूले पनि परिवारजनलाई समवेदना पत्र प्रदान गर्दै रूपसरले खेलकुद क्षेत्रमा पुर्याउनुभएको योगदानको उच्च स्मरण गर्नुभएको थियो। 
शिक्षा र खेलकुदका माध्यमबाट पोखराको सामाजिक विकासमा पुर्याउनुभएको अमूल्य योगदानका कारण रूपबहादुर गुरुङ ‘रूपसर’ सधैं स्मरणीय रहनुहुनेछ। उहाँको निधनले पोखराको शैक्षिक र खेलकुद जगत्मा अपूरणीय क्षति पुगेको छ। 




