युनाईटेड खबर, पोखरा, १२ कार्तिक ।, पोखरा महानगरपालिका खेलकुद विकास समितिले आर्थिक वर्ष २०८३/०८४ का कार्यक्रमहरूलाई कार्यतालिका बनाएर आगामी मंसिरदेखि कार्यान्वयनमा लैजाने निर्णय गरेको छ। पोखरा रङ्गशालामा बसेको समितिको बैठकले ग्रासरुट तहबाट नयाँ प्रतिभा पहिचान र खेलाडी उत्पादनका लागि प्रतियोगिता तथा प्रशिक्षणलाई मुख्य प्राथमिकतामा राख्ने निर्णय गरेको सदस्य सचिव सुरज अधिकारीले जानकारी दिनुभयो। 
बैठकमा समितिका अध्यक्ष दीपकबहादुर गोदारले सीमित स्रोतसाधनको अधिकतम उपयोग गर्दै बालबालिकालाई खेल क्षेत्रमा जोड्ने र दिगो परिणाम हासिल गर्ने बताउनुभयो। त्यसैगरी पोखरा महानगरपालिका शिक्षा महाशाखा प्रमुख पदमराज आचार्यले खेलकुदले व्यक्तिलाई स्वस्थ र सकारात्मक बनाउने उल्लेख गर्दै समितिका गतिविधिलाई महाशाखाका तर्फबाट पूर्ण सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभयो। कार्यक्रममा शिक्षा अधिकृत रामप्रसाद तिवारीले अनुशासन र सहकार्यमा जोड दिनुभयो भने अर्का शिक्षा अधिकृत सोमनाथ भण्डारीले खेल क्षेत्रको दीर्घकालीन विकासका लागि ग्रासरुट तहलाई नै केन्द्रमा राखेर अघि बढ्नुपर्ने औँल्याउनुभयो।
यस्तै, समितिका खेल प्राविधिक प्रमुख राजन पौडेल र उपप्रमुख सिद्धान्त अधिकारीले ग्रासरुट विकासविना समग्र खेल क्षेत्रको प्रगति असम्भव रहेको भन्दै कार्यविधिमा आवश्यक सुधार र सहजीकरण हुनुपर्ने धारणा राख्नुभएको थियो। सोही अवसरमा समितिले नवनियुक्त शिक्षा महाशाखा प्रमुख आचार्यलाई स्वागत समेत गरेको थियो।



