युनाईटेडखबर समाचारदाता,पोखरा । कास्की जिल्ला, पोखरा महानगरपालिका वडा नं. १६ का प्रख्यात शिक्षासेवी, कुशल प्रशासक एवं खेलकुद क्षेत्रका हस्ती रूपबहादुर गुरुङ (रूप सर) को हालै (२०८३ साल असोज ३० गतेका दिन) निधन भएको छ. उहाँको निधनले पोखराको शैक्षिक तथा खेलकुद क्षेत्रमा अपूरणीय क्षति पुगेको छ र यस क्षेत्रका बौद्धिक तथा प्राज्ञिक व्यक्तित्वहरू शोकमा डुबेका छन्।
(परिवारका सदस्यसंग रुप सर )
२००३ साल पुस १० गते जन्मिनुभएका स्व. गुरुङले आफ्नो जीवनको लामो कालखण्ड नेपालको शिक्षा र खेलकुदको विकासका लागि समर्पित गर्नुभएको थियो। उहाँले ‘My Best is Yet to Come…’ (मेरो उत्कृष्ट प्रदर्शन अझै आउन बाँकी छ) भन्ने जीवन दर्शनलाई आत्मसात् गर्दै हरेक क्षेत्रमा अब्बल योगदान दिनुभएको थियो।
५ दशकभन्दा लामो गौरवमय शिक्षण तथा प्राज्ञिक यात्रा
स्व. गुरुङले २०२४ सालदेखि शिक्षण पेसामा प्रवेश गरी पोखरा तथा आसपासका विभिन्न प्रतिष्ठित शैक्षिक संस्थाहरूमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो:
शिक्षक: श्री भद्रकाली पब्लिक हाईस्कुल, कास्की (२०२४–२०२८), श्री ५ रत्न राज्य लक्ष्मी कन्या हाई स्कुल, पोखरा (२०२८–२०२९), गौरीशंकर मा.वि., हेम्जा (२०२९), र नवप्रभात मा.वि., नयाँबजार (२०३०–२०५४)।
निर्देशक तथा संस्थापक: शिशु निकेतनमा निर्देशक (२०४९–२०५७), न्यू मिलेनियम मा.वि.का संस्थापक निर्देशक (२०५७–२०६०) र सूर्योदय बोर्डिङ स्कुलका संस्थापक प्राध्यापक (२०६०–२०८३) रूपमा उहाँले सयौं विद्यार्थीहरूको भविष्य निर्माण गर्नुभएको पारिवारिक सदस्य एबं नेपाल भुतपुर्ब खेलाडी संघका अध्यक्ष दिल बहादुर गुरुडले जानकारी दिनुभएको छ ।
शैक्षिक तर्फ उहाँले भारतको देहरादौनबाट मेट्रिक, डी.ए.भी. इन्टर कलेजबाट फिजिकल ट्रेन्ड, गोरखपुरबाट बी.एस्सी., त्रिभुवन विश्वविद्यालयबाट बी.एड. (गणित) तथा भारतको नागल्याण्डस्थित द ग्लोबल ओपन युनिभर्सिटीबाट एम.ए. र सिड्घानिया युनिभर्सिटीबाट एम.फिल. उपाधि हासिल गर्नुभएको थियो। उहाँलाई २०२४ सालमा राष्ट्रिय शिक्षा पुरस्कार (जिल्ला शिक्षा समिति) तथा विभिन्न कदरपत्रहरूद्वारा सम्मानित गरिएको थियो।
खेलकुद क्षेत्रका कुशल निर्णायक र प्रबन्धक
शिक्षाका साथै खेलकुदमा पनि उहाँको अतुलनीय योगदान रहेको थियो। २०२६ सालदेखि नै खेलकुदमा सक्रिय रहँदै उहाँले गण्डकी अञ्चलको टोली प्रमुख (राष्ट्रिय खेलकुद, दशरथ रंगशाला, काठमाडौं), सातौं तथा तेस्रो राष्ट्रिय भलिबल प्रतियोगिताका व्यवस्थापक/निर्णायक, र विभिन्न अन्तर-जिल्ला तथा अञ्चलीय भलिबल, एथलेटिक्स, भारोत्तोलन प्रतियोगिताहरूमा प्रमुख निर्णायक, व्यवस्थापक तथा सञ्चालकको भूमिका निर्वाह गर्नुभएको थियो। उहाँले नेपाल स्काउटको कोर्स पूरा गर्नुका साथै खेलकुद विकासका लागि विभिन्न सम्मान र प्रशंसा-पत्रहरू प्राप्त गर्नुभएको थियो।
सामाजिक तथा राजनीतिक आबद्धता
स्व. गुरुङ विभिन्न सामाजिक संस्थामा आबद्ध भई समाज सेवामा समेत सक्रिय हुनुहुन्थ्यो। उहाँ नेपाल क्षयरोग निवारण संस्था (कास्की शाखा) का सदस्य, भूतपूर्व खेलाडी मञ्चका संस्थापक आजीवन सदस्य, गुरुङ बुद्धिजीवी प्राज्ञिक संघका आजीवन सदस्य तथा शिकारी सरदार वंश गुरुङ स्मृति प्रतिष्ठान (तनहुँ) का सल्लाहकार हुनुहुन्थ्यो। राजनीतिक रूपमा पनि उहाँ २००७ सालदेखि नै कम्युनिस्ट राजनीतिमा आबद्ध भई परिवर्तनका पक्षमा आफ्नो वैचारिक योगदान दिनुभएको थियो।
एक आदर्श गुरु, प्रेरणादायी व्यक्तित्व र कुशल खेलकुदकर्मीका रूपमा सधैं स्मरणीय रहनुहुने स्व. रूपबहादुर गुरुङको निधनले राष्ट्रले एक सच्चा अभिभावक गुमाएको छ। वहांको एक श्रीमती नरशोभागुरुङ , दुई छोरा राजेश र डा.अभिनाश गुरुङ , बुहारीहरु र एक छोरी, ज्वाईं नातानातिनीहरु रहेको छ ।
दु:ख को यस घडीमा शोकसन्तप्त परिवारजन, आफन्त तथा इष्टमित्रमा गहिरो समवेदना व्यक्त गर्दै दिवङ्गत आत्माको चिरशान्तिको कामना गर्दछौँ। #युनाईटेड_खबर_डटकम परिवार




