बाढीपहिरोले अवरुद्ध कालीगण्डकी करिडोर सञ्चालनमा, मुस्ताङ आवतजावत सहज

राजबहादुर गुरुड / युनाईटेड खबर, मुस्ताङ । गत असोज १० गते गएको भीषण बाढीपहिरोका कारण अवरुद्ध बनेको बागलुङ–म्याग्दी–मुस्ताङ सडकखण्ड पुनः सञ्चालनमा भएको छ। कालीगण्डकी करिडोर आयोजनाको तीव्र सक्रियता र विभिन्न पक्षको प्रयासपछि अवरुद्ध सडक पूर्ण रूपमा खुलेको हो।

कालीगण्डकी करिडोर आयोजनाअन्तर्गत विशेष गरी म्याग्दी जिल्लाका विभिन्न स्थानमा गएको पहिरो र कालीगण्डकी नदीको कटानका कारण सडक पूर्ण रूपमा बन्द भएको थियो। सडक बन्द हुँदा विश्वप्रसिद्ध पर्यटकीय जिल्ला मुस्ताङ जाने र आउने पर्यटक तथा स्थानीयवासीहरू बीचमै अलपत्र परेका थिए।

दिनरातको प्रयासले सम्भव भयो खुलाउने काम

बाटोको क्षति र पहिरोको प्रकृति हेर्दा तिहारपछि मात्रै सडक खुलाउन सकिने अनुमान गरिएको थियो। तर, आयोजना र सम्बन्धित सबै पक्षको अहोरात्र खटाइले निर्धारित समयअगावै यातायात सञ्चालनमा ल्याउन सफल भएको कालीगण्डकी करिडोर आयोजनाका सिनियर डिभिजनल इन्जिनियर तेजस्वी शर्मा (Tejaswi Sharma) ले जानकारी दिनुभयो।

इन्जिनियर शर्माका अनुसार यस कठिन कार्यमा जलविद्युत आयोजना (हाइड्रो), निर्माण व्यवसायी (कन्ट्र्याक्टर), जनप्रतिनिधि र स्थानीयवासीहरूले ठूलो संख्यामा जुटी आपसी समन्वय र सहयोग गरेका थिए। सबैको संयुक्त प्रयासले ठाउँ–ठाउँमा गएका ठूला पहिरोहरू पन्छाएर सडकलाई सुचारु बनाइएको उहाँले स्पष्ट पार्नुभयो।

धनमालमा ठूलो क्षति, मानवीय क्षति टर्यो

सडक खुलाससँगै अहिले मुस्ताङतर्फ मानिसहरूले आफ्नै निजी तथा सार्वजनिक सवारी साधनहरूमार्फत सहजै आवतजावत गर्न सुरु गरेका छन्।

यद्यपि, यस प्राकृतिक विपद्ले विशेष गरी म्याग्दी खण्डमा ठूलो भौतिक क्षति पुर्‍याएको छ। बाढीपहिरोले स्थानीय बासिन्दाका निजी सम्पत्ति तथा भौतिक संरचनामा भारी क्षति पुगेको छ। तर, पहिरो बिहानको समयमा गएका कारण समयमै सचेत हुँदा ठूलो मानवीय क्षति भने हुन पाएन।

सडक सञ्चालनमा आएपछि मुस्ताङ आवतजावत गर्ने पर्यटक र स्थानीयले ठुलो राहत महसुस गरेका छन् भने अवरुद्ध व्यापारिक तथा यातायात गतिविधिहरू पनि पुनः सुचारु भएका छन्।

Advertisment