काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नोबेल कोरोनाभाइरस ९कोभिड–१९ ले अतिप्रभावित १४ जिल्लामा विद्यालय बन्द गर्न अपील गरेको छ।
मन्त्रालयले बिहीबार संक्रमणको अत्यधिक जोखिम रहेका काठमाडौं, ललितपुर, भक्तपुर, कास्की, रुपन्देही, चितवन, बाँके, पर्सा, कैलाली, मोरङ, दाङ, सुर्खेत, बारा र बाग्लुङमा विद्यालयमा सहभागी नहुन अपील गरेको हो।
“विज्ञप्तिमा अपील भनिए पनि यो विद्यालय बन्द गर्ने निर्देशन नै हो,” मन्त्रालयका एक उच्च अधिकारीले भने, “ती जिल्लाहरूमा विद्यालय बन्द नगर्दा दुई हप्तापछि लक्डाउन गर्नुपर्ने अवस्था भएकाले हामीले यस्तो निर्णय गरेका हौं।”
बालबालिका र युवा वर्गमा संक्रमण दर बढेपछि मन्त्रालय यस्तो निष्कर्षमा पुगेको हो। विद्यालय मात्रै होइन, कलेजमा समेत भौतिक कक्षा सञ्चालन नगर्न आग्रह गरिएको नाम उल्लेख गर्न नचाहने ती अधिकारीले बताए।
त्यस्तै, ‘मेरो स्वास्थ्य मेरो जिम्मेवारी’ अन्तर्गत बेलुकी सात बजेपछि रेस्टुरेन्ट तथा क्लबहरूमा नजान समेत मन्त्रालयको आग्रह छ।
मन्त्रालयद्वारा जारी अपीलमा भनिएको छ, “बढी भीडभाड हुने सबै क्षेत्र तथा सेवाहरू अविलम्ब बन्द गर्नुपर्ने अवस्था भए पनि विद्यालय, रात्रि व्यवसायहरू, सात बजेपछि सबै रेस्टुरेन्ट तथा क्लबहरू, खेलकुद, जीम, सार्वजनिक पूजाआजा तथा जात्राहरू, सभा, सम्मेलन, बैठक तथा भेलाहरू, सिनेमा हल, शपिङ मल, नाचघर, पार्टी प्यालेस, हेल्थ क्लब, स्विमिङ पुल आदि स्थलहरूमा सहभागी नभइदिन र जनस्वास्थ्यका मापदण्डहरूको कडाइका साथ पालना गर्न गराउन भूमिका खेल्न अपील गर्दछौं।”
कास्की सहित १४ जिल्लामा विद्यालय बन्द गर्न अपील, विद्यालय बन्द नगरे दुई हप्तापछि लक्डाउन !
April 16, 2021
790
Advertisment




