लुम्बिनी प्रदेश मन्त्रिपरिषद् विस्तार: तीन नवनियुक्त मन्त्रीद्वारा शपथ, मन्त्रालयको जिम्मेवारीसमेत हेरफेर

युनाईटेड खबर, बुटवल। लुम्बिनी प्रदेश सरकारका नवनियुक्त तीन जना मन्त्रीहरूले मङ्गलबार पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ। बुटवलस्थित प्रदेश प्रमुखको कार्यालयमा आयोजित विशेष समारोहका बिच प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगरले नवनियुक्त मन्त्रीहरूलाई शपथ गराउनुभएको हो।

मुख्यमन्त्री चेतनारायण आचार्यको सिफारिसमा नेपालको संविधानको धारा १६८ को उपधारा (९) बमोजिम सोमबार मन्त्रिपरिषद् पुनर्गठन गरिएको थियो।

नवनियुक्त मन्त्रीहरू र उहाँहरूको मन्त्रालय:

 दीपेन्द्रकुमार पुन: स्वास्थ्य मन्त्रालय

 इन्द्रजीत थारू: आर्थिक मामिला तथा योजना मन्त्रालय

 कृष्णा कुश्मा थारू: कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय

शपथ ग्रहण समारोहमा मुख्यमन्त्री चेतनारायण आचार्य, पूर्व मुख्यमन्त्री जोखबहादुर महरा, सभामुख तुलाराम घर्तीमगर र उपसभामुख मेनुका खाँडकेसी लगायत उच्च पदस्थ व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।

मन्त्रीहरूको कार्यविभाजन र हेरफेर

मन्त्रिपरिषद् विस्तारसँगै प्रदेश सरकारले मौजुदा मन्त्रीहरूको जिम्मेवारीमा समेत हेरफेर र कार्यविभाजन गरेको छ:

 रामजीप्रसाद घिमिरे: सामाजिक विकास मन्त्रालय (यसअघि स्वास्थ्य मन्त्रालय)

 तुलसीप्रसाद चौधरी: वन, वातावरण तथा पर्यटन मन्त्रालय (यसअघि कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय)

 सन्तोषकुमार पाण्डेय: शहरी विकास, ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्रालय (यसअघि सामाजिक विकास मन्त्रालय)

 रत्नबहादुर खत्री: भौतिक पूर्वाधार विकास मन्त्रालय

 भण्डारीलाल अहिर: आन्तरिक मामिला, कानुन, उद्योग तथा यातायात मन्त्रालय

सत्ता समीकरण र प्रदेशसभाको गणित

केन्द्रमा आएको राजनीतिक परिवर्तनपछि नेपाली कांग्रेसका मन्त्रीहरूले राजीनामा दिएका थिए। त्यसपछि बनेको नयाँ सत्ता समीकरण अनुसार नेकपा (एमाले) बाट मुख्यमन्त्रीसहित ४ जना, नेपाली कम्युनिस्ट पार्टीबाट ३ जना र जनता समाजवादी पार्टी, नेपालबाट २ जना मन्त्री रहने गरी सहमति भएपछि मन्त्रिपरिषद् पुनर्गठन गरिएको हो।

कुल  ८३ सदस्यीय लुम्बिनी प्रदेशसभामा दलीय उपस्थिति यस प्रकार रहेको छ:

 नेकपा (एमाले): २९

 नेपाली कांग्रेस: २७

 नेपाली कम्युनिस्ट पार्टी: १३

 जनता समाजवादी पार्टी, नेपाल: ५

 राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा): ४

 जनमत पार्टी: ३

 राष्ट्रिय जनमोर्चा: १

 स्वतन्त्र: १ रहेकाछन ।

Advertisment