स्याङजाको बाङखेमा माघेसंक्रान्ती मेला हुने

 

भुपाल गुरुङ,
पोखरा २८ पौष ।

पर्यटकिय सम्भवना बोकेको स्याङजाको बाङखे गाँउमा माघेसंक्रान्ती मेला हुने भएको छ ।
स्याङजा वालिङ नगरपालीका वडानम्बर ३ स्थित बाङखेमा जनहित युवा क्लवको २९ औँ वार्षिक उत्सवको अवसरमा माघ १ गते देखि ६ गते सम्म मेला आयोजना गर्न लागिएको हो । समानता र सहअस्तित्व बिच युवा एकता, जसले समाजको विकास गर्दछ भन्ने मुल नाराका साथ आयोजना गरिने मेलामा वडास्तरिय पुरुष भलिबल प्रतियोगीताका साथै विविध मनोरञ्नात्मक साँस्कृतिक कार्यक्रम राखिएको छ ।
मेलामा आयोजित पुरुष भलिबल तर्फ विजेता टिमले नगद ४० हजार र उपविजेताले २५ हजार सहित ट्रफि, मेडल, र प्रमाणपत्र प्राप्त क्लवका अध्यक्ष बेद बहादुर गुरुङले जानकारी दिनुभयो । मेलामा साँस्कृतिक कार्यक्रम तर्फ दोहोरी गायक प्रदिप त्रिपाठी, निशा गुरुङ, सरुन गुरुङ र चिना थापा मगरको प्रस्तुती रहने उहाँले बताउनुभयो । मेलामा स्याङजा वालिङ राम्बाच्छामा रहेर स्थानियस्तरमा चर्चित एन्जल डान्स ग्रुपले समेत नृत्य प्रस्तुत गर्ने छ । माघ ६ गते विशेष साँस्कृतिक कार्यक्रम सहित मेलाको समापन हुने छ । मेलाको सम्पुर्ण तयारी भईरहेको अध्यक्ष गुरुङले बताउनुभयो ।
सिद्धार्थ राजमार्गबाट नजिकै पर्ने उक्त गाँउको प्रचारप्रसार एवम पर्यटन प्रवद्र्धनका लागि मेलाले टेवा पुग्ने आयोजकको विश्वास छ । मेलामा गुरुङ समुदाय संग सम्बन्धित संस्कृतिहरु प्रस्तुत गरिने बताएको छ । वर्षेनी स्थानिय क्लवले आफ्नो वार्षिक उत्सवको अवसरमा मेला आयोजना गर्दै आएको छ । मेला सम्पन्न गर्नका लागि देश तथा विदेशमा रहेका स्थानियको सहयोग आउने क्रम जारी रहेको आयोजकले बताएको छ । गुरुङ समुदायको बहुल्यता रहेको उक्त गाँउ साविक माझकोट शिवालय गाविस अन्र्तगत पर्दछ ।

Advertisment