कर्नल जेपी क्रस र धम्पु दुराको बाबु-छोरो सम्बन्ध : गोल्डेन जुब्ली’भव्य रूपमा मनाइयो

युनाईटेड खबर, पोखरा ।  नेपाल र नेपालीहरूप्रतिको गहिरो प्रेम तथा मानवीय भावनाको एक अनुपम उदाहरण पेस गर्दै आएका बेलायती नागरिक तथा सेवानिवृत्त कर्नल जेपी क्रस र नेपाली नागरिक दम्पू दुराबीच पिता-पुत्रको सम्बन्ध गाँसिएको ५० वर्ष पूरा भएको छ। यसै सुवर्ण अवसरमा पोखरामा एक भव्य समारोहबीच विभिन्न कार्यक्रम गरी उहाँहरूको ५०औँ वर्षगाँठ (गोल्डेन जुब्ली) मनाइएको छ।  

सम्मान तथा विविध कार्यक्रमहरू

कार्यक्रमका अवसरमा पोखराको हिमालयन गल्फ कोर्समा ‘द फ्रेन्डसिप गल्फ कम्पिटिसन-२०८३’ (The Friendship Golf Competition-2083) आयोजना गरिएको थियो। उक्त समारोहमा गल्फ कोर्स पोखरा, सम्बद्ध गल्फ खेलाडीहरू तथा विभिन्न क्षेत्रका महानुभावहरूलाई विशेष सम्मान गरिएको थियो।  

त्यसैगरी, बास्केटबल संघ गण्डकी प्रदेश समितिका अध्यक्ष ध्वज कुमार गुरुड, कास्की जिल्ला अध्यक्ष कृष्ण बहादुर गुरुड  र केन्द्रीय समितिको तर्फबाट वरिष्ठ उपाध्यक्ष जुम प्रसाद गुरुङ लगायतका पदाधिकारीहरूले कर्नल जेपी क्रस र उहाँका सुपुत्र धम्पु दुरालाई सम्मान गर्नुभएको थियो। यसै क्रममा स्थानीय आमा समूहहरू र विभिन्न युवा क्लबहरूले पनि बाबु-छोरोको यो पवित्र सम्बन्धको सुवर्ण जयन्तीमा उहाँहरूलाई हार्दिक सम्मान अर्पण गरेका थिए।  

जेपी क्रसको नेपालप्रतिको योगदान र व्यक्तित्व

लामो समयदेखि नेपाललाई कर्मथलो बनाउँदै आउनुभएका १०३ वर्षीय कर्नल जेपी क्रस (John Philip Cross) लाई नेपाल सरकारले २०७१ कात्तिक २८ गते (सन् २०१४ नोभेम्बर १४/१५) नेपाली नागरिकता प्रदान गरेको थियो। त्यसपश्चात् उहाँ पूर्ण रूपमा नेपाली नागरिकको हैसियतमा रहँदै विभिन्न सामाजिक तथा कल्याणकारी क्षेत्रमा सक्रिय हुनुहुन्छ।

विशेष गरी बेलायती सैनिक, भूतपूर्व सैनिक तथा तिनका सन्ततिहरूको हित र कल्याणका लागि उहाँले पुर्‍याउनुभएको योगदान अतुलनीय छ। सामाजिक सेवाका साथै उहाँ खेलकुद क्षेत्रमा पनि उत्तिकै सक्रिय हुनुहुन्छ। पूर्व बास्केटबल खेलाडीसमेत रहनुभएका क्रसले बास्केटबल, गल्फ र फुटबल लगायतका खेलहरूको विकासका लागि पोखरा र समग्र देशमै महत्त्वपूर्ण योगदान दिनुभएको छ। खेलकुदप्रतिको यही लगावका कारण उहाँले कास्की जिल्ला बास्केटबल संघमा रु. ५ लाख ५० हजारको अक्षयकोषसमेत स्थापना गर्नुभएको छ, जसबाट प्रत्येक वर्ष उहाँकै नाममा ‘जेपी क्रस बास्केटबल प्रतियोगिता’ समेत सञ्चालन हुँदै आएको छ। 

मानवता, सादगीपन र नेपालप्रतिको अगाध स्नेहको यो ५० वर्षे बाबु-छोरोको सम्बन्धले पोखरावासी र सम्पूर्ण देशका लागि एक प्रेरणादायी सन्देश दिएको छ ।

Advertisment