काठमाडौँ-तराई द्रुतमार्गको सुरुङ ‘ब्रेक थ्रु’, राष्ट्रपति पौडेलद्वारा नेपाली सेनाको प्रशंसा

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले निर्माणाधीन राष्ट्रिय गौरवको काठमाडौँ–तराई/मधेश द्रुतमार्ग (फास्ट ट्र्याक) अन्तर्गत मकवानपुरको महादेवटार सुरुङको बुधबार ‘ब्रेक थ्रु’ गर्नुभएको छ ।

सुरुङमार्गको ‘ब्रेक थ्रु’ कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले राष्ट्रिय सुरक्षाका साथै विकास निर्माण र राष्ट्र निर्माणमा नेपाली सेनाले पुर्‍याएको योगदानको प्रशंसा गर्नुभयो । जटिल भूबनोट र विकट भौगोलिक अवस्थाका बाबजुद सडक तथा पूर्वाधार निर्माणमा सेनाले देखाएको व्यावसायिक दक्षता र समर्पण अनुकरणीय रहेको उहाँको भनाइ थियो ।

करिब ७१ किलोमिटर लामो यो द्रुतमार्ग निर्माणपछि मुलुकको यातायात प्रणालीमा गुणात्मक परिवर्तन आउने विश्वास व्यक्त गर्दै राष्ट्रपति पौडेलले भन्नुभयो, “द्रुतमार्ग सञ्चालनमा आएपछि यात्रा समय र दूरी घट्नुका साथै इन्धन र सवारी साधन मर्मत खर्चमा उल्लेख्य बचत हुनेछ । यसले काठमाडौँ र तराई/मधेशको भौगोलिक दूरी घटाएर राष्ट्रिय एकता, पर्यटन प्रवर्द्धन र आर्थिक गतिविधि विस्तारमा दूरगामी योगदान पुर्‍याउनेछ ।”

आयोजना निर्धारित समयमै सम्पन्न गर्न नेपाल सरकार र नेपाली सेना दृढ रहेको उल्लेख गर्दै उहाँले निर्माण कार्यमा सबै क्षेत्रबाट सहयोगको अपेक्षासमेत व्यक्त गर्नुभयो ।

कार्यक्रममा बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटा, भौतिक पूर्वाधार विकास मन्त्री सुनील लम्साल, नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङ, कोरियाली राजदूत पार्क जे क्यूङ र प्रधानसेनापति अशोकराज सिग्देललगायतका उच्च पदस्थ व्यक्तित्वहरूको उपस्थिति थियो ।

Advertisment