पोखरामा सर्वाधिक पुरस्कार राशिको सेभेन ए साइड फुटबल शुरु

बैशाख ६,पोखरा । बौद्ध शान्ति क्लव, पोेखरा रामघाटको आयोजनामा प्रथम विष्णुकुमारी गुरुङ्ग स्मृती अन्तर क्लव खुल्ला सेभेन ए साइड फुटबल प्रतियोगिता बिहिबारदेखि पोखराको अम्मरसिंह खेल मैदानमा शुरु भएको छ । जिल्ला समन्वय समिति कास्कीका अध्यक्ष बयनबहादुर क्षेत्रीले एक समारोहका विच प्रतियोगिताको उद्घाटन गरे । प्रतियोगिता उद्घाटन गर्दै क्षेत्रीले स्वास्थ्य र कुलतमुक्त समाज निर्माणका लागि खेलकुदको महत्व हुने बताए । खेलुकदसंगै सभ्य समाज निर्माणमा युवाहरुको भूमिंका रहने बताउँदै रोजगारीका लागि विदेशिने हजारौं युवालाई देशमै रोजगार दिन सकिए युवा शक्ति नेपालमै बसेर राष्ट्रनिर्माणमा लाग्ने उनको भनाई थियो ।

समारोहमा बोल्दै नेपाल सेभेन ए साइड फुटबल महासंघका अध्यक्ष नविन पुनले सेभेन ए साइड फुटबलले खेलाडी तथा रेफ्रीहरुलाई व्यवसायिक बनाउँदै लगेको बताए । उनले सेभेन ए साइड फुटबलको विकासका लागि संस्थागत सहयोग गर्ने प्रतिबता जाहेर गरे । त्यस्तै कास्की जिल्ला फुटबल संघका अध्यक्ष मिलन गुरुङ्गले खेलाडीलाई व्यवसायिक र दक्ष बनाउनका लागि कास्कीले छुट्टै फुटबल टिम निर्माण गर्न लागेको जानकारी दिए ।

आयोजक क्लवका अध्यक्ष रोशन गुरुङ्गको सभापतित्वमा सम्पन्न उद्घाटन समारोहमा स्व.विष्णु गुरुङ्गका परिवारको तर्फबाट जंगबहादुर गुरुङ्ग, क्लवका उपाध्यक्ष सागर गुरुङ्ग, सदस्य अशोक न्यौपाने लगायतले बोेलेका थिए । क्लवका सह–सचिव सिवानी कुँवरले कार्यक्रम सञ्चालन गरेकि थिइन् ।

‘युवाहरुलाई खेलकुदतर्फ आकर्षित गरौं, स्वास्थ्य र अनुशासित समाज निर्माण गरौं’ भन्ने मुल नाराका साथ शुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा मसिनाले सेती ब्वाइजलाई टाई ब्रेकरमा ३–२ गोलले पराजित गरेको छ । ४२ टिम सम्मिल प्रतियोगिताको उपाधी विजेता क्लवले नगद २ लाख २५ हजार सहित शिल्ड मेडल प्रमाणपत्र पुरस्कार प्राप्त गर्नेछ । त्यसैगरि दोश्रो स्थान हाँसिल गर्ने टिमले नगद १ लाख १ हजार १ सय ११ रुपैया सहित शिल्ड मेडल प्रमाण पत्र पुरस्कार प्राप्त गर्ने छ ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकिपर, मिडफिल्डर, डिफेण्डर, सर्वाधिक गोलकर्तालाई नगद ५ हजार सहित ट्रफि तथा अनुशासित टोलीलाई ट्रफि प्रमाणपत्रले पुरस्कृत गरिने क्लवले जनाएको छ ।

Advertisment