के के भाे त कांग्रेसकाे केन्द्रिय समिति बैठकमा, बिस्तृत हेराैं

काठमाडौं । नेपाली कांग्रेकाे केन्द्रिय कार्यसमिति बुधवार बसेकाे बैठकले बिभिन्न निर्णय गरेकाे छ । जस अनुसार २ जना केन्द्रीय सदस्य र ६ जना आमन्त्रित गरी ८ जना केन्द्रीय सदस्य थपेको छ ।
जंगीलाल राय (सर्लाही) र कर्णबहादुर बुढा (डोल्पा) लाई नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको सदस्य पदमा मनोनित गरिएको छ। यसैगरी, मोहनसिंह राठौर (कैलाली), शम्भुलाल श्रेष्ठ (सर्लाही), अभिषेख प्रताप शाह (कपिलवस्तु), दयाराम पाण्डे (लम्जुङ), जनकराज कलौनी (डडेल्धुरा) र भूमिबहादुर (विश्व) गुरुङ (स्याङ्जा) लाई पार्टीको आमन्त्रित केन्द्रीय सदस्य पदमा विधान बमोजिम गर्नु भएको मनोनयन गरिएको छ।
कांग्रेस केन्द्रीय समितिका निर्णयहरु
स्वदेश र बिदेशमा रहेका नेपालीलाई अपील
(१) कोरोना भाइरसको विश्वब्यापी महामारीबाट नेपाली समुदाय पनि विश्वब्यापी रुपमै प्रताडित भएको छ । यसविचमा ५० बढी नेपालीको विभिन्न देशमा कोरोना संक्रमणका कारण निधन भएको छ भने सयौं नेपाली संक्रमित भएका छन् । जीवन गुमाएका सबै नेपाली एवं अन्य देशका दुई लाख बढी दिवंगत नागरिकमा श्रद्धाञ्जली र परिवारजनमा समवेदना व्यक्त गर्दै यो बैठक उपचाररत सबैको सिध्र स्वास्थलाभ कामना गर्दछ ।
कोरोना जोखिमका कारण कष्टकर स्थितिमा रहनुभएका स्वदेश र विदेशमा रहेका सबै नेपाली दिदिबहिनी दाजुभाइमा यो बैठक उच्च संयम र सतर्कताका लागि अपील गर्दछ ।
प्रतिकूलता बीच ‘फ्रन्ट लाइन’ मा नेतृत्व गरिरहेका प्रति उच्च सम्मान
(२) पिपिइ लगायत अत्यावश्यक स्वास्थ सामग्रीको अभावका बीच उच्च मानवीय भावना साथ फ्रन्ट लाईनमा रहेर कार्य गरिरहनु भएका देशभरिका सबै स्वास्थ्यकर्मी, प्रतिकुल स्थितिमा पनि अहोरात्र समन्वयको भूमिका निर्वाह गरिरहेका सुरक्षाकर्मी, सरसफाईकर्मी एवं सूचना सम्प्रेषणमा दिनरात कार्य गरिरहेका संचारकर्मीप्रति यो बैठक उच्च सम्मान प्रकट गर्दछ ।
नागरिकको सेवामा निरन्तर जुट्न साथीहरुलाई अपील
(३) लकडाउनका कारण आर्थिक, सामाजिक समस्या झेलिरहेका आम नागरिकहरुलाई राहत सहयोग पु¥याउन पार्टीका केन्द्रदेखि स्थानीय तहसम्मका निकायहरु, भ्रातृ एवं शुभेच्छुक संस्थाहरु, नेपाली कांग्रेसका तर्फबाट स्थानीय तथा विभिन्न तहमा निर्वाचित जनप्रतिनिधिहरुको क्रियाशीलता आगामी दिनहरुमा पनि अप्ठ्यारोमा परेका नागरिकहरुको सहयोगमा निरन्तर जुट्न सम्पूर्ण सम्बन्धित सबैलाई यो बैठक अपील गर्दछ ।
सरकारको अलोकतान्त्रिक निर्णय विरुद्ध सहकार्य
(४) वर्तमान ओली सरकार लकडाउनको अवस्थाको समेत दुरुपयोग गरी यसले विगतमा श्रृङ्खलावद्ध रुपमा गर्दै आएका लोकतान्त्रिक मूल्य र मान्यता, संविधानको मर्म र भावना विपरीतका निर्णयहरु तथा राज्य संवेदनशील संरचनाहरुलाई कब्जा गर्ने क्रियाकलापहरुलाई झन तिव्रता दिएको छ । नेपाली कांग्रेसको अगुवाईमा विपक्षी दल र आम जनताको विरोधका कारण अध्यादेश फिर्ता लिए पनि सरकारको प्रवृत्तिमा कुनै परिवर्तन आएको छैन । अतः यस्तो प्रवृत्तिका विरुद्ध सबै दलहरु र नागरिक समाजसँग सहकार्य गरी आवश्यकता अनुरुप संघर्ष साथ अगाडि बढ्ने यो बैठक निर्णय गर्दछ ।
अपहरणमा संलग्नलाई कार्वाही गर
(५) सरकारले लोकतान्त्रिक मूल्य र मान्यतालाई तहसनहस गर्ने मनसायका साथ सरकारको समेत संलग्नतामा सांसद डा. सुरेन्द्र यादव अपहरण घटनालाई नेपाली कांग्रेसले गम्भीर एवं अक्षम्य घटनाका रुपमा लिएको छ । नेपाली कांग्रेसको गम्भीर ध्यानाकर्षण भएको छ । यस्ता अपराधिक कार्यको यो बैठक घोर भत्र्सना गर्दछ र अपराधमा संलग्न व्यक्तिहरुलाई तत्काल कानूनी कार्वाही अगाडि बढाउन माग गर्दछ ।
सामाग्री खरीद भ्रष्टाचारमा कार्वाहीको माग
(६) यो सरकार भ्रष्टाचारको पर्याय बनेको छ । कोभिड १९ को संक्रमणको स्थितिमा समेत सरकारमा बस्नेहरुले यसलाई भ्रष्टाचार गर्ने अवसरको रुपमा लिनु अत्यन्त खेदजनक छ । यो बैठक स्वास्थ्य सामाग्री भ्रष्टाचार प्रकरणमा संलग्न सबैलाई तत्काल कानूनी कारवाही अगाडि बढाउन सम्बन्धित निकायहरुसँग माग गर्दछ ।
के.पी. ओली नेतृत्वको नेकपाको सरकारले शासन गर्ने राजनीतिक र नैतिक आधार गुमायो
(७) वर्तमान सरकार लोकतान्त्रिक मूल्य र मान्यतालाई कमजोर गर्ने, नेपालको संविधानका मूलभूत भावनालाई भत्काउने कार्यमा निरन्तर लागि परेको छ । एकपछि अर्को गरी भ्रष्टाचारका कार्यहरु भइरहेका छन् । मुलुक कोभिड १९ को गम्भीर जोखिममा रहेका बेला मेडिकल सामाग्री खरीदमा समेत भ्रष्टाचार हुनु दुर्भाग्यपूर्ण विषय हो ।
पछिल्लो समयमा विवादास्पद दुई वटा अध्यादेश जारी गर्नु, राजनैतिक दल विभाजन गर्ने कार्यमा सरकार स्वयं संलग्न भई सांसदलाई अपहरण गर्ने जस्तो कुकृत्य गर्नु, त्यस्ता कार्यको छानविन अनुसन्धान गर्न माग गर्दा जाहेरी सम्म दर्ता गर्न इन्कार गर्नु, सरकारको वदनियत पुष्टि गर्ने घटना हुन् ।
सामाजिक सन्जालमा सरकार वा सरकारी पदाधिकारीको आलोचना गरेका आधारमा मानिसलाई पक्राउ गर्ने, मुद्दा चलाउने, संचार माध्यममा बोलेको, अन्तरवार्ता लिएको कारणले स्पष्टीकरण सोध्ने, कारवाही चलाउने जस्ता घटनाले वर्तमान सरकार संविधान प्रदत्त अभिव्यक्तिको स्वतन्त्रता लगायत मौलिक हक अधिकारको खिल्ली उडाउँदै निरंकुशता तर्फ अग्रसर भएको प्रष्ट छ ।
सरकार कोरोनाको महामारीको जोखिमपूर्ण र गम्भीर अवस्थामा यसको उचित व्यवस्थापन गर्नुको साटो यस संवेदनशील समयलाई लोकतान्त्रिक भावना विरोधी कार्य गर्ने अवसरका रुपमा प्रयोग गरिरहेको छ । सरकारका क्रियाकलापले नेपाली जनताले विगतको निर्वाचन मार्फत प्रदान गरेको अभिमतको घोर उपेक्षा र अपमान गरेको छ । तसर्थ नेकपाका अध्यक्ष के.पी. शर्मा ओलीको नेतृत्वको सरकारले शासन गर्ने राजनैतिक एवं नैतिक आधार गुमाएको ठहर यो बैठक गर्दछ ।
राहत र आर्थिक कार्य योजना बारे
(८) लकडाउनका कारण देशको आर्थिक–सामाजिक जीवन अस्तव्यस्त भएको छ । सरकारको राहत घोषणा कागजमा सिमित भएको छ । केही सिमित राहतहरु पनि भेदभाव र अपारदर्शी ढंगबाट वितरण गरिएको छ । यो बैठक जीवन निर्वाहको समस्या झेलिरहेका नागरिकहरुलाई विना भेदभाव राहत र सहयोग पु¥याउन सरकारसँग जोडदार माग गर्दछ ।
साथै, प्रभावित नागरिकहरुको यथार्थ स्थिति स्थानीय सरकारहरुलाई थाहा हुने भएकोले केन्द्र सरकारले तत्काल केन्द्रीय राहत कोषबाट स्थानीय निकायहरुलाई साधन स्रोत हस्तान्तरण गरी राहतमा तिव्रता दिन माग गर्दछ । स्थानीय तहमा राहत वितरणको सर्वदलीय संयन्त्र मार्फत अनुगमनको व्यवस्था तत्काल मिलाउन यो बैठक सरकार समक्ष माग गर्दछ ।
लकडाउनका कारण अर्थतन्त्रका विभिन्न क्षेत्रमा परेको अल्पकालिन र दीर्घकालिन प्रतिकूल प्रभावहरुलाई मध्यनजर गरी तत्काल आवश्यक कार्ययोजना ल्याउन यो बैठक माग गर्दछ र कृषि ढुवानी सहित आपूर्ति व्यवस्था र कृषि क्षेत्र लगायत रोजगारी एवं आय आर्जनका अवसरहरु वृद्धि गर्नका लागि सामाजिक दुरीको मापदण्ड पालना गर्ने गरी संचालन हुन सक्ने उद्योग व्यवसायहरुलाई प्रोत्साहन गर्न नीति अवलम्वन गरी आवश्यक राहत लगायतका कदमहरु चाल्न माग गर्दछ ।
‘सांसद विकास कोष’ नीति नै खारेज गर, कोभिड सामना गर्न लगानी बढाउ
(९) कोरोनाको जोखिम सामना गर्न मुलुकलाई जरुरी पर्ने ठूलो रकमका लागि स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम सांसद विकास कोषका रुपमा विनियोजन गरिंदै आएको नीति खारेज गरेर कोरोना विरुद्धको सचेतना, सामग्री, राहत र उपचारमा रकम पर्याप्त प्रबन्ध गर्न बैठकले सरकारसँग माग गरेको छ ।
परिक्षणलाई व्यापक गर्नु पर्ने माग
(१०) आम नेपालीहरु संक्रमणको जोखिमसँग सामना गर्न लकडाउनको निर्देशनलाई पालना गरी बसेको एक महिना नाघी सक्यो । यस अवधिमा संक्रमणको यथार्थ स्थितिको मूल्याङ्कन गर्न पिसिआर परिक्षणलाई तिव्रता दिने काममा सरकार पूर्णतः असफल रह्यो ।
यो बैठक पिसिआर प्रविधि मार्फत परिक्षणलाई ७७ जिल्लामै व्यापक तिव्रता दिंदै संक्रमणको उपचारमा संलग्न स्वास्थ्यकर्मी, सुरक्षाकर्मी लगायत सबैलाई आवश्यक पर्ने स्वास्थ्य सुरक्षा सामाग्रीहरुको यथेष्ठ व्यवस्थाको साथै कोभिड १९ को उपचारका लागि आवश्यक सबै व्यवस्था तत्काल मिलाउन पनि यो बैठक माग गर्दछ ।
निश्चित मापदण्डमा क्वारेन्टाइन व्यवस्थित गर
(११) कयौं ठाउँमा निश्चित मापदण्ड विपरीतका क्वारेन्टाइनबाट मलेरीया लगायतका अन्य विविध रोगहरुको संक्रमण विस्तारको जोखिम थप बढ्दै गएको हुँदा देशभरि रहेका क्वारेन्टाइनहरुलाई उचित मापदण्ड अनुरुपको व्यवस्थापन तत्काल गर्न गराउन बैठकले तीनै तहको सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको छ ।
अन्य रोगका विरामीले भोगी रहेका कठिनाई बारे
(१२) अन्य रोगका विरामीको उपचारमा भइरहेको कठिनाई अन्त्य गरेर सहज वातावरण निर्माण गर्न सरकारले आवश्यक प्रबन्ध मिलाउनु पर्दछ । उपचार कठिनाइ सँगै अत्यावश्यक औषधीहरुको अभाव हुँदै जांदा त्यसले नयाँ जोखिम उत्पन्न गर्नेछ, अतः औषधी उत्पादन र आयातमा समयमै सचेत रहन जरुरी छ ।
अलपत्र नागरिकलाई कि खान दिने, कि गाउँ जान दिने व्यवस्था गरियोस्
(१३) राजधानी लगायत विभिन्न शहरी क्षेत्रमा अलपत्रमा परेका नागरिकहरुलाई ‘कि खान दिने, कि गाउँ जान दिने’ नीति लिएर तत्काल समुचित व्यवस्थापन गर्न गराउन बैठकले सरकार समक्ष माग गरेको छ ।
देश बाहिर अप्ठ्यारोमा रहेका नेपालीको उद्धार गर
(१४) विश्वका विभिन्न देशमा अप्ठ्यारोमा परेका नेपाली नागरिकहरुलाई स्वदेशमा ल्याउने व्यवस्था मिलाउन यो बैठक सरकारसँग माग गर्दछ ।
कोरोनापछिको अर्थतन्त्र बारे
(१५) विश्वव्यापी कोभिड १९ को असरबाट नेपाली जनताको आर्थिक–सामाजिक सुरक्षा सुनिश्चित गर्नु आजको आवश्यकता हो । यस सम्बन्धमा आवश्यक विज्ञ परामर्शका आधारमा पार्टीले आफ्नो धारणा बनाउँदै जाने र त्यसका आधारमा समसामयिक दृष्टिकोण सार्वजनिक गर्दै जानेछ । कोरोनापछिको नेपालको अर्थतन्त्र लगायतको गहन विषयमा पार्टीले आवश्यक समितिहरु गठन गरी तत्कालिक र दुरगामी दृष्टिकोण तय गर्नेछ ।
संसद बैठक अविलम्व बोलाउन माग
(१६) कोरोना जोखिमको कारण उत्पन्न परिस्थिति, बजेट र वर्तमान ओली सरकारको लोकतान्त्रिक मूल्य र मान्यता विरोधी प्रवृत्तिका सम्बन्धमा संसदमा गम्भीर छलफल हुन जरुरी छ । यसका लागि तत्काल संघीय संसदको बैठक बोलाउन यो बैठक सरकारसँग माग गर्दछ ।
पार्टी पंक्तिलाई अपील
(१७) एकातर्फ कोरोनाको जोखिम संग लड्ने बिषयमा उच्च सतर्कता साथ कार्य गर्न, अर्कातर्फ ओली नेतृत्वको सरकारसंग लोकतन्त्र र लोकतान्त्रिक संविधान रक्षाका लागि लड्न सजगता र सम्पूर्ण एकताका लागि यो बैठक स्वदेश र बिदेशमा रहेका लाखौं सदस्यमा हार्दिक अपील गर्दछ ।
जिल्ला, क्षेत्र, गाउँ/नगर र वडा तहमा निम्न कार्यमा पार्टी एवं भ्रातृ एवं शुभेच्छुक संस्थाहरुलाई परिचालित गर्ने गराउने निर्णय यो बैठक गर्दछ ।
– स्वास्थकर्मी, सुरक्षाकर्मी र संचारकर्र्मीसंग निरन्तर समन्वय र सहयोग ।
– राहत स्थितिको नियमित अनुगमन ।
– अप्ठ्यारोमा रहेका जनतालाई सहयोग ।
– ब्यापारी ब्यवसायी संग संवाद र सहयोग ।
– विद्यार्थीको शैक्षिक भविष्य सम्बन्धमा शैक्षिक प्रतिष्ठान एवं शैक्षिक क्षेत्रका ब्यक्तित्वहरु संग जरुरी संवाद र सहकार्य ।
– जनसम्पर्क समितिको हकमा सबन्धित देशमा रहेका नेपाली समुदायलाई सचेतना, राहत, उपचार र उद्धारको कार्यमा निरन्तर क्रियाशील बनाउने निर्णय यो बैठक गर्दछ ।
मनोनयन अनुमोदन
(१८) तत्कालीन नेपाल लोकतान्त्रिक फोरमका संगठानिक संरचना तथा विगतमा अन्य राजनीतिक दलको केन्द्रीय नेतृत्वमा रहेका र त्यस्तो राजनीतिक दल परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गरेका केन्द्रीय तहका तथा मातहत निकायका पदाधिकारी, सदस्य तथा क्रियाशील सदस्यहरुको समायोजनका सम्बन्धमा आवश्यक सिफारिश गर्नका लागि गठित समायोजन समितिको २०७६ फाल्गुण १९ गतेको बैठकको निर्णय र उक्त निर्णय र सिफारिश अनुसार पार्टी सभापति शेरबहादुर देउवाद्वारा— श्री जंगीलाल राय (सर्लाही) र श्री कर्णबहादुर बुढा (डोल्पा) लाई नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको सदस्य पदमा र श्री मोहनसिंह राठौर (कैलाली), श्री शम्भुलाल श्रेष्ठ (सर्लाही), श्री अभिषेख प्रताप शाह (कपिलवस्तु), श्री दयाराम पाण्डे (लम्जुङ), श्री जनकराज कलौनी (डडेल्धुरा) र श्री भूमिबहादुर (विश्व) गुरुङ (स्याङ्जा) लाई पार्टीको आमन्त्रित केन्द्रीय सदस्य पदमा विधान बमोजिम गर्नु भएको मनोनयनलाई अनुमोदन गरिएको छ ।
रमजानको शुभकामना
(१९) ईस्लाम धर्मावलम्वीहरुले मनाउने पवित्र पर्व रमजानका अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण मुस्लिम दिदीबहिनी तथा दाजुभाइहरुमा केन्द्रीय कार्यसमितिको यो बैठक हार्दिक शुभकामना व्यक्त गर्दछ ।
शोक प्रस्ताव
वालिङ्ग नगरपालिका वडा न. २ निवासी नेपाली कांग्रेस स्याङ्जाका पुराना नेता सूर्यप्रसाद रेग्मीको फागुन १९ गते; नेपाली कांग्रेस सुनसरीका महासमिति सदस्य, संविधानसभा २०६४ का सदस्य एवं समाजसेवी शिवनारायण उरावको वैशाख १ गते; गोरखा काठमाडौँ प्रजातान्त्रिक समाजका पूर्व अध्यक्ष प्रजातन्त्रवादी एवं समाजसेवी तुलसी न्यौपानेको वैशाख १ गते; नेपाली कांग्रेस काठमाडौं निर्वाचन क्षेत्र नं. ३ का महासमिति सदस्य, वरिष्ठ समाजसेवी एवं काठमाडांैका अग्रज नेता गजेन्द्र कुमार लामाको चैत्र १३ गते; २०४९ र २०५४ को स्थानीय निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट स्याङजा जिल्ला वानेथोक देउराली गा.वि.स. मा निर्वाचित अध्यक्ष कृष्णबहादुर बस्नेतको चैत्र १८ गते; नेपाली कांग्रेसका केन्द्रीय सदस्य धनराज गुरुङको साईली भाउजु अर्जुनचौपारी गा.पा. वडा नं. २ निवासी विष्णुमाया गुरुङको वैशाख १२ गते; स्याङ्गजा जिल्ला अर्जुनचौपारी गाउँपालिका वडा नं. ३ आरुचौर निवासी नेपाली कांग्रेसका क्षेत्रीय प्रतिनिधि गोविन्द सिग्देलको चैत्र २८ गते; नेपाली कांग्रेसका तर्फबाट इटहरी उमहानगरपालिका वडा नं. १ मा निर्वाचित वडा अध्यक्ष विष्णुलाल चौधरीको गत वैशाख ४ गते; नेपाली कांग्रेस जिल्ला कार्यसमिति, मोरङका सहसचिव एवं सुन्दरहरैचा नगरपालिकाका प्रमुख शिवप्रसाद ढकालकी माता इन्द्रकुमारी ढकालको वैशाख १५ गते, नेपाली कांग्रेस कास्की क्षेत्र नं. ३ का सभापति पोषनाथ शर्माका पिता एवं साविक सल्यान गा.वि.स. वडा नं. ८ का पूर्व वडा अध्यक्ष पं. टेकनाथ पौडेलको वैशाख १६ गते; धनुषा निर्वाचन क्षेत्र नं. २ जनकपुर उपमहानगरपालिका वडा नं. १७ का भागिरथ यादवको चैत्र २६ गते; पोखरा महानगरपालिका वडा नं .१८ निवासी नेपाली कांग्रेस जिल्ला कार्यसमिति कास्कीका सदस्य कृष्णप्रसाद तिमिल्सीनाकी माता अयोध्या तिमिल्सना; बाजुरा जिल्ला त्रिवेणी नगरपालिका प्रमुख रामसिंह रावलका पिता सर्पे रावलको फागुन २७ गते; वर्दिया गेरुवा गा.पा. वडा नं. ६ का वडा अध्यक्ष टेकबहादुर चौधरी र नेपाली कांग्रेस प्रदेश नं. २ का सभाषद् मा. शिवचन्द्र चौधरीको पत्नीको निधनप्रति कार्यसमितिको यो बैठक गहिरो दुःख व्यक्त गर्दै उहाँहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछ ।
नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा उहाँहरुले पु¥याउनु भएको सक्रिय योगदानको स्मरण गर्दै उहाँहरुको आत्माको चिर शान्तिको कामनाका साथ सम्पूर्ण शोक सन्तप्त परिवारजनप्रति यो बैठक समवेदना प्रकट
गर्दछ ।
बैठकमा धारणा व्यक्त :-
बैठकमा उपसभापति विमलेन्द्र निधिले विषय प्रवेश गराए पश्चात महामन्त्री पूर्णबहादुर खड्काले प्रस्तावहरु प्रस्तुत गर्नु भएको थियो । प्रस्तुत प्रस्तावमा नेता रामचन्द्र पौडेल, केन्द्रीय सदस्यहरु— कृष्णप्रसाद पौडेल, डा. रामशरण महत, अर्जुननरसिंह के.सी., महेश आचार्य, दिलेन्द्रप्रसाद बडू, एन.पी. साउँद, नविन्द्रराज जोशी, डा. चन्द्र भण्डारी, धनराज गुरुङ, पुष्पा भुसाल, शंकर भण्डारी, गगनकुमार थापा, ईश्वरी न्यौपाने, पार्वता डी.सी. चौधरी, श्यामकुमार घिमिरे, प्रदीप पौडेल, रामकृष्ण यादव, मोहनबहादुर बस्नेत, देवेन्द्रराज कँडेल, बीरबहादुर बलायर, डा. डिला संग्रौला, रमेश लेखक, लक्ष्मी परियार, शिवप्रसाद हुमागाँइ, कर्णबहादुर बुढा, गोपाल दहित, योगेन्द्र चौधरी, आमन्त्रित केन्द्रीय सदस्यहरु— रमा कोइराला पौडेल र कृष्णकिशोर घिमिरेले आफ्नो धारणा राख्नु भएको थियो ।

Advertisment