तीन हजार ५४१ परीक्षणमा २३२ मा सङ्क्रमणको पुष्टि

काठमाडौं, माघ १० गते ।  नेपालमा कोरोनाभाइरसका २३२ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा तीन हजार ५४१ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा २३२ जनामा सङ्क्रमणको पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी दैनिक विवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा ३८६ जना सङ्क्रमित सङ्क्रमणमुक्त भई घर फर्केको जनाएको छ । मन्त्रालयका अनुसार हालसम्म नेपालमा कोरोनाका कुल सङ्क्रमितको संख्या दुई लाख ६९ हजार १८० पुगेको छ । हाल तीन हजार ४५२ जनामा भाइरसको सङ्क्रमण सक्रिय छ ।
मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा ३८६ जना कोभिडमुक्त भएसँगै नेपालमा कोरोना लागेर निको भएका ब्यक्तिको संख्या दुई लाख ६३ हजार ७३४ पुगेको छ । पछिल्लो चौबीस घण्टामा आठ जना सङ्क्रमितको मृत्युको पुष्टि भएको मन्त्रालयले उल्लेख गरेको छ । उक्त मृतकसँगै नेपालमा कोभिडबाट मृत्यु हुने एक हजार ९९४ पुगेको छ ।
हाल तीन हजार ४५२ जना आइसोलेशनमा र १४७ जना क्वारेन्टिनमा छन् ।

Advertisment