लोकतन्त्रमाथि खतरा – प्रधानमन्त्री ओली

काठमाडौं, फागुन ७ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रणालीगत हिसावले विभिन्न संघर्षमार्फत नेपाल संघीय लोकतान्त्रिक गणतन्त्रको चरणमा आइपुगेको बताउनुभएको छ । यो प्रणालीलाई अझ जीवन्त बनाएर अगाडि बढ्नुको विकल्प नरहेको उहाँले चर्चा गर्नुभयो ।

७१ औं राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा सैनिक मञ्च टुँडिखेलमा शुक्रबार आयोजित विशेष कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री ओलीले सो चर्चा गर्नुभयो । प्राप्त उपलब्धीको रक्षा गर्दै थप उपलब्धिका लागि अगाडि बढ्नुपर्नेबेला भएको पनि उहाँले प्रष्ट पार्नुभयो ।

समृद्ध नेपाल र सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्न सरकार लागिपरेको बताउनुहुँदै प्रधानमन्त्री ओलीले भन्नुभयो, “लोकतन्त्रभित्रबाटै अस्थिरता खोज्ने प्रयास निस्तेज गर्नुपर्नेछ, मुलुक नयाँ निर्वाचन तर्फ अग्रसर भएको छ, सबै निकायले आआफ्नो भूमिका जिम्मेवारीपूर्वक वहन गर्नुपर्छ ।” लोकतन्त्रमाथि खतरा पुग्ने काम कहीं कतैबाट हुन नहुने उहाँले बताउनुभयो ।

ताजा जनादेश लोकतान्त्रिक उच्चतम विधिभएको बताउनुहुँदै प्रधानमन्त्री ओलीले त्यसकालागि जुट्न सबैमा आव्हान गर्नुभयो । सुशासन र विकासका सपनाहरु साकार पार्ने बेलामा कुनै अलमल गर्नुपर्ने आवश्यक नरहेको बताउनुभयो । मतभेदलाई बढावा दिने कुनै पनि गतिविधि गर्नु वान्छनीय नभएको चर्चा गर्र्नुहुँदै प्रधानमन्त्री ओलीले बृहत्तर राष्ट्रिय हितका लागि अघि बढ्नुको विकल्प नरहेको बताउनुभयो ।

“यतिबेला विगतका हाम्रा बलिदान र कठिन दिनलाई सम्झेर आज विकासबाट पाठ सिक्दै अगाडि बढ्नुपर्ने दिन आएको छ” प्रधानमन्त्री ओलीले भन्नुभयो, “सानातिना मतभेदलाई छाडेर बृहत्तर हितलाई ध्यान दिएर अगाडि बढ्न म सबैमा आग्रह गर्दछु ।” सरकारले तीन वर्ष पूरा गरेको र यसअवधिमा महत्वपूर्ण उपलब्धि हासिल गरेको बताउनुभयो ।

सरकारले विभिन्न क्षेत्रमा देखिनेगरी सफलता हासिल गरेको चर्चा गर्नुहुँदै प्रधानमन्त्री ओलीले संविधानको रक्षा गर्दै थप उपलब्धिका लागि सबै लाग्न आवश्यक रहेको बताउनुभयो । नेपाललाई एकजुट बनाएर सुन्दर भविष्य निर्माण गर्न साझा प्रयास गर्नु आवश्यक रहेको बताउनुहुँदै प्रधानमन्त्री ओलीले भन्नुभयो, “अब हामी सबै विकासतर्फ उन्मुख हुनुपर्छ, जनताको आकांक्षा पूरा गर्ने दिशामा उन्मुख हुनुपर्छ ।”

राष्ट्रलाई एकताबद्ध गरेर अगाडि बढ्न आव्हान गर्नुहुँदै प्रधानमन्त्री ओलीले जनताको अभिमत विपरित सरकार नजाने प्रतिबद्धता जनाउनुभयो । अर्को वर्षसम्म अल्पविकसित राष्ट्रबाट विकासशील राष्ट्रमा पदार्पण गर्ने र सन् २०३० सम्म दिगो विकास लक्ष्य पूरा गर्ने विश्वास दिलाउनुभयो । सो प्रयासमा सरकार लागिपरेको उहाँले बताउनुभयो । विगतका कठिन दिनको स्मरण गर्दै अझ उर्जाशील भएर सबै लाग्न आवश्यक रहेको उहाँले चर्चा गर्नुभयो ।

मुलुकले विविध क्षेत्रमा असाधारण उपलब्धि कायम गरेको दावी गर्नुहुँदै प्रधानमन्त्री ओलीले अझै थुप्रै काम गर्न बाँकी रहेको बताउनुभयो । यति लामो बलिदानपूर्ण संघर्ष गरेर पनि अझै उपलब्धि हासिल गर्न बाँकी रहेको र त्यसका लागि सबै लाग्नुपर्ने बताउनुभया । लोकतान्त्रिक प्रणालीभन्दा अर्को उपयुक्त बाटो नभएको बताउनुहुँदै प्रधानमन्त्री ओलीले शान्तिपूर्ण लोकतान्त्रिक प्रणालीप्रतिको आस्था र विश्वास बढाउन आग्रह गर्नुभयो ।
नेपाली जनताको लोकतन्त्र, स्वतन्त्रता र विकासप्रतिको चाहनाका कारण मुलुक आज यस अवस्थामा आइपुगेको चर्चा गर्नुहुँदै प्रधानमन्त्री ओलीले हरेक दिन फागुन ७ गतेलाई राष्ट्रिय पर्वका रुपमा मनाउने गरेको स्मरण गर्नुभयो । विगत सात दशकसम्म मुलुकको राष्ट्रियता, सामाजिक न्याय तथा समानताका लागि योगदान गर्ने सबैप्रति प्रधानमन्त्री ओलीले धन्यवाद व्यक्त गर्नुभयो ।

देशलाई यस अवस्थामा ल्याई पुर्याउन आफ्नो बलिदान दिनुहुने सबै ज्ञात अज्ञात शहीदप्रति उहाँले श्रद्धाञ्जलि अर्पण गर्नुभयो । देशमा लोकतन्त्र तथा गणतन्त्र ल्याउनमा सहयोग तथा योगदान दिने सबै पूर्वजप्रति सम्मान व्यक्त गर्नुभयो ।

कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, सभामुख अग्निप्रसाद सापकोटा, सरकारका मन्त्रीहरु, राष्ट्रिय सभाका सदस्यसहित संवैधानिक निकायका प्रमुख तथा उच्च पदस्थ कर्मचारीहरुको सहभागिता थियो । कार्यक्रममा नेपाली सेनाले विभिन्न झाँकीसहितको प्रस्तुति गरेको थियो ।

Advertisment