काठमाडौँ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भारी मात्रामा भन्सार छली गरी ल्याइएका इलेक्ट्रोनिक्स सामग्री, चुरोट र सुनसहित दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
विमानस्थल सुरक्षा कार्यालयका अनुसार चीनका नागरिक र धनुषाका एक व्यक्तिलाई फरक-फरक मितिमा भन्सार छलीका सामग्रीसहित पक्राउ गरिएको हो।
चिनियाँ नागरिकबाट ७२ लाख बराबरको इलेक्ट्रोनिक्स र चुरोट बरामद
गत भदौ ६ गते चिनियाँ इस्टर्न एयरलाइन्सको उडानबाट नेपाल आएका २९ वर्षीय चिनियाँ नागरिक Chen Junshan (राहदानी नं. EQ3002623) लाई आगमन भन्सार क्षेत्रबाट बाहिरिने क्रममा शंका लागि जाँच गर्दा ठूलो मात्रामा भन्सार छलीका सामग्री फेला परेको छ।
बरामद भएका सामग्रीहरू:
मोबाइल तथा पार्टपुर्जा: iPhone 17 Pro (७ थान), iPhone 14 (५ थान), iPhone 15 (२ थान), iPhone 15 Pro Max र 16 Pro Max (२ थान), iPhone 15 Pro (२ थान), iPhone 17 Pro Max (१ थान) तथा iPhone का खाली बाकस, housing र ब्याट्री। 
डिस्प्ले तथा कभर: मोबाइलको Display पार्टपुर्जा (२६५ थान) र Housing कभर (२५७ थान)।
ल्यापटप: HP Laptop (५ थान) र Dell Display Cover (३ थान)।
चुरोट: NANJING चुरोट (२४ बण्डल) र PRIDE चुरोट (२ बण्डल)।
बरामद गरिएका सम्पूर्ण सामग्रीको अनुमानित बजार मूल्य रु. ७२,२५,०००।– (बहत्तर लाख पच्चिस हजार रुपैयाँ) रहेको छ।
धनुषाका यादव पक्राउ
त्यसैगरी भदौ ५ गते कतारको दोहाबाट नेपाल एयरलाइन्समार्फत आएका धनुषा क्षिरेश्वरनाथ नगरपालिका–५ बस्ने ३५ वर्षीय कृष्ण यादवलाई पक्राउ गरिएको छ। यादवले विदेशबाट आएका ३ जना यात्रुलाई प्रयोग गरी ल्याएको ७५ ग्राम तौलका ३ थान सुनजस्तो देखिने पहेँलो धातुको सिक्री संकलन गरिरहेका थिए। यात्रुहरूलाई ज्यालाबापत दिन लागिएको नगद रु. ३०,०००।– समेत निजको साथबाट बरामद गरिएको प्रहरीले जनाएको छ।
विमानस्थल सुरक्षा कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक राज कुमार सिलवालका अनुसार नियन्त्रणमा लिइएका दुवै व्यक्ति र बरामद गरिएका सामग्रीहरूलाई आवश्यक अनुसन्धान तथा प्रचलित कानूनबमोजिम कारबाहीका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय, गौचरमा बुझाइएको जानकारी दिएको छ।





