माओबादीकाे राष्ट्रिय सम्मेलन, खानपिन र बस्ने आफैँले गर्नुपर्ने

काठमाडौं, मङसिर २१ गते । नेकपा माओवादी केन्द्रको ऐतिहासिक राष्ट्रिय सम्मेलन आगामी पुस ११ देखि १३ गतेसम्म काठमाडौंमा हुने भएको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा यही मङ्सिर १६ देखि १७ गतेसम्म बसेको स्थायी समितिको बैठकले पुस ११ देखि १३ गतेसम्म काठमाडौंमा राष्ट्रिय सम्मेलन गर्ने निर्णय गरेको हो ।
सम्मेलनका प्रतिनिधि करिब १५ सय हुने भएका छन् । माओवादी केन्द्रले प्रत्येक प्रदेशबाट ३० जनाको दरले प्रतिनिधि छनोट गर्नेछ भने १५ सय संगठित सदस्य बराबर एक जना प्रतिनिध चयन हुनेछन् । अध्यक्ष प्रचण्डले जारी गर्नुभएको आन्तरिक परिपत्रअनुसार प्रदेश प्रदेशले कम्तीमा एक जना घाइते र अपाङ्गता हुनुभएकालाई प्रतिनिधि चयन गर्नुपर्नेछ भने केन्द्रीय सदस्यहरु स्वतः सम्मेलनका प्रतिनिधि हुनुहुनेछ ।
प्रत्येक केन्द्रीय विभागले तीन–तीन जना प्रतिनिधि छानिनुहुनेछ भने केन्द्रीय कार्यालयबाट पाँच प्रतिशत प्रतिनिधि मनोनीत हुनुहुनेछ ।
यसैगरी, सम्मेलनमा सहभागी हुनुहुने आयोजक एवं प्रतिनिधिहरुलाई प्रतिनिधि शुल्क दुई हजार तोकेको छ । साथै, सम्मेलनमा सहभागी हुने सबै प्रतिनिधिहरुले खाने, बस्ने लगायतका खर्चको व्यवस्थापन स्वयं आफैँले गर्नुपर्नेछ ।
यसैगरी, प्रतिनिधिहरुको सबै व्यवस्थापनको जिम्मा सम्बन्धित प्रदेशको हुने परिपत्रमा उल्लेख छ । राष्ट्रिय सम्मेलनका लागि माओवादीले वडा र पालिका सम्मेलन गरिसकेको छ भने प्रदेश सम्मेलन मङ्सिर २५ गते हुँदैछ ।
गाेरखपत्रबाट

Advertisment