मुख्यमन्त्री पाण्डेद्दारा अन्नपुर्णको हनुमतधाम निर्माणस्थलको अवलोकन

गण्डकी (कास्की), ८ मङ्सिर । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले अन्नपूर्ण गाउँपालिका–४ थाप्लेस्थित हनुमतधाम निर्माणस्थलको आज स्थलगत अवलोकन गर्नुभएको छ ।

प्राचीनकालदेखि सल्यान र आसपासका सर्वसाधारणले श्रद्धाभक्तिपूर्वक पूजाआजा गर्दै आएको थाप्लेको भूमे मन्दिर नजिकै निर्माण गर्न लागिएको हनुमतधामको स्थलगत निरीक्षणसँगै मुख्यमन्त्रीले सम्बद्ध स्थानीयवासी, निर्माण समितिसँग छलफल गर्नुभएको थियो ।

धाम निर्माणका लागि गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयबाट विस्तृत आयोजना प्रतिवेदन तयार गरिसकिएको छ । उक्त प्रतिवेदनअनुसार ७० मिटर लम्बाइ र ५० मिटर चौडाइ क्षेत्रफलमा हनुमानको मूर्ति राखिने जनाइएको छ ।

डोमबाट ६४ फिट उचाइमा हनुमानको मूर्ति रहने छ । मूर्तिसहित राम–सीताको मन्दिरलगायत संरचना रु २३ करोड ७३ लाख ५३ हजारको लागतमा निर्माण गरिने डिपिआरमा उल्लेख छ ।

सो अवसरमा मुख्यमन्त्री पाण्डेले धार्मिक पर्यटकीयस्थलका रूपमा यस स्थलको विकास गर्न सकिने बताउनुभयो । निर्माण समितिले जग्गा प्राप्तिलगायत कामलाई अघि बढाउनुपर्ने बताउँदै उहाँले प्रदेश सरकारका तर्फबाट साथ र सहयोग हुने विश्वास व्यक्त गर्नुभयो ।

नेपाली कांग्रेस गण्डकी प्रदेश सभापति शुक्रराज शर्माले महावली हनुमानले लक्ष्मणलाई बचाउनका लागि कालाञ्जर पर्वतबाट सञ्जीवनी बुटी ल्याउने क्रममा यस स्थानमा टेकेको विश्वास रहेको बताउनुभयो । हनुमतधाम निर्माण गरी यस क्षेत्रलाई धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गरिने उहाँले बताउनुभयो । हनुमतधाम निर्माण गरेसँगै यो गण्डकी प्रदेशको मात्र नभई समग्र नेपालको नै विशिष्ट धार्मिक पर्यटकीय गन्तव्य बन्ने शर्माको भनाइ छ ।

धामसँगै यस स्थानमा हनुमत औषधालय, गुरुकूल आदि निर्माण गर्ने लक्ष्य राखिएको छ । अन्नपूर्ण गाउँपालिकाका प्रमुख विष्णुबहादुर केसीले यस क्षेत्रको समृद्धि र विकासका लागि हनुमतधाम महत्त्वपूर्ण बन्ने बताउँदै निर्माणका लागि पालिकाका तर्फबाट सक्दो सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो ।

निर्माण समितिका अध्यक्ष मोहदत्त पोखरेलले समिति निर्माण कार्यका लागि लागिरहेको बताउनुभयो । समितिले धाम निर्माणका सन्दर्भमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई समेत भेटेर यसबारे जानकारी गराएको समितिका सदस्य राजबहादुर गुरुङले जानकारी दिनुभयो । हनुमतधाम निर्माण सम्बन्धमा प्रधानमन्त्री सकारात्मक रहनुभएको र सहयोग गर्ने विश्वास व्यक्त गर्नुभएको गुरुङले बताउनुभयो । रासस

Advertisment