पौष १०, पोखरा ।
नेपाली काँग्रेस गण्डकी प्रदेशको प्रथम प्रदेश सम्मेलनले प्रधानमन्त्री एकै व्यक्ति दुई पटक भन्दा बढी हु न नहुने प्रस्ताव गरेको छ ।
यही पौष ३ र ४ गते सम्पन्न सम्मेलनमा भएका गतिविधि र निर्णयहरू सार्वजनिक गर्न आज नेपाली काँग्रेस गण्डकी प्रदेश समितिले विज्ञप्ति जारी गर्दै सम्मेलनमा पारित प्रस्तावहरू बारे जानकारी गराएको हो ।
नेपाली काँग्रेस गण्डकी प्रदेशका प्रवक्ता माधवप्रसाद बास्तोला(मधु )ले आज विज्ञप्ति जारी गर्दै नेपाली काँग्रेसका केन्द्रीय सभापति शेरबहादुर देउवाले उद्घाटन गर्नु भएको गण्डकी प्रदेशको प्रथम ऐतिहासिक सम्मेलनमा पार्टीका गण्डकी प्रदेश सभापति शुक्रराज शर्माले अवधारणापत्र र महामन्त्रीद्वय किरणवावु श्रेष्ठ र विष्णुप्रसाद लामिछाने क्रमशः संगठनात्मक र राजनीतिक प्रतिवेदनका साथै कोषाध्यक्ष बसन्तकुमार श्रेष्ठले आर्थिक प्र्रतिवेदन प्रस्तुत गर्नु भएको जानकारी दिनु भयो ।
प्रतिवेदनहरूमा उल्लेखित नेपालको संविधानमा गर्नुपर्ने संशोधन र पार्टीको विधानमा गर्नुपर्ने संशोधनलाई साथै अन्य प्रस्तावहरूलाई आसन्न महासमिति वैठक र केन्द्रमा प्रस्तुत गरिने विज्ञप्तिमा जनाइएको छ ।
प्रवक्ता बास्तोलाका अनुसार सम्मेलनले केन्द्रीय सदस्यहरू पदावधि समाप्त भएपछि एक पटकका लागि स्वतः महाधिवेशन प्रतिनिधि हुने वर्तमान विधानको धारा खारेज गरी वडा तहबाट नै निर्वाचनमा भाग लिने व्यवस्था गर्ने प्रस्ताव गरेको छ ।
संविधानमा व्यवस्था गरिएको समानुपातिक प्रतिनिधित्व निर्वाचन प्रणाली खारेज गरिनुपर्ने, पार्टीको विधानमा भएको लोकतन्त्रको ठाउँमा प्रजातन्त्र लेखी संशोधन गरिनु पर्ने, नैतिक शिक्षा, निःशुल्क स्वास्थ्य, भ्रष्टचारको अन्त्य र रोजगारी तथा सुशासनलाई पहिलो प्रथमिकता पाउनुपर्ने सम्मेलनले प्रस्ताव गरेको छ ।
क्रियाशिल सदस्यको वितरणलाई सरलीकरण गर्ने, पार्टीमा रहेको बहुपदीय पदाधिकारी व्यवस्थालाई खारेज गर्ने, प्रदेश समितिलाई अधिकार सम्पन्न बनाउँदै लैजानु पर्ने, प्रदेश संरचनाका टिकट प्रदेश समितिबाट वितरण हुनुपर्ने प्रस्ताव गरिएको बास्तोलाले बताउनु भयो ।
व्यवसायिक, वैज्ञानिक र नैतिक शिक्षा प्रणाली लागु गरी देशमा उद्योग, उत्पादन र रोजगारीको ग्यारेण्टी गराई युवाहरुलाई रोजगारको साथै विदेश पलायन हुनबाट रोक्ने काँग्रेसको प्रस्ताव छ ।
आफ्नै कार्यालय भवन निर्माण गर्ने, पार्टीलाई प्रविधिमैत्री बनाई काँग्रेसका कार्यकर्तालाई अनुशासित एवम् विचार प्रधान बनाउने र पार्टीलाई नीति नियमअनुसार सञ्चालन गर्ने, प्रशिक्षण कार्यक्रम गरी पार्टी भित्र मुल्याङ्कन पद्धती, गुटबन्दीको अन्त्य गर्न इमान्दार र क्षमतावान कार्यकर्तालाई जिम्मेवारीमा राख्ने सम्मेलनको प्रस्ताव छ ।
राष्ट्रिय मुलधारमा सबैको पहुँच पुर्याउन पार्टी भित्र सबै वर्ग र समुदायलाई प्रशिक्षण, क्रियाशिलता र प्रतिनिधिहरु मुलुक बनाउने व्यवस्था गर्ने, पार्टीको साख बचाई राख्न राष्ट्रिय, प्रादेशिक र स्थानीय निर्वाचनमा गठबन्धन गर्न नहुने काँग्रेसले भनेको छ ।
नेपाली काँग्रेसबाट सरकारमा रहँदा वा नरहँदा भएका सबै प्रकारका गल्ती, कमजोरीको आत्माआलोचना गर्दै त्यस्ता गल्ती नदोहोर्याउने, सत्ता र शक्तिमा वा लाभको पदमा सधैभरी सिमित मान्छेको हावी भएको परिस्थितिलाई अन्त्य गरी निश्चित मापदण्ड वनाइ वैज्ञानिक प्रणाली लागु गर्नुपर्ने प्रस्ताव गरिएको बास्तोलाले जानकारी दिनुभयो ।
प्रदेश सभापातिहरुको मर्यादाक्रमलाई केन्द्रीय पदाधिकारीसँगै राख्नुपर्ने र पार्टी भित्रको सबै तहमा प्रोटोकलको व्यवस्था गर्नुपर्ने, निर्वाचित जनप्रतिनिधि र पार्टी विचको सम्बन्धलाई प्रगाढ बनाउनुपर्ने र पार्टीको निर्देशनअनुसार पार्टीबाट निर्वाचित जनप्रतिनिधि पार्टीप्रति पनि उत्तरदायित्व बनाउनुपर्ने प्रदेश सम्मेलनको प्रस्ताव छ ।
पार्टीका पर्व र तिथि मितिहरुलाई व्यवस्थित रुपमा मनाउने र कार्यान्वयनमा ल्याउने, निर्वाचन क्षेत्र प्रदेश सभाका सभापतिहरुलाई महाधिवेशन प्रतिनिधि सरह मान्यता दिनुपर्ने र प्रदेश प्रतिनिधिहरुलाई मात्र प्रदेश कार्यसमितिमा उम्मेदवार बन्ने व्यवस्था मिलाउनुपर्ने काँग्रेसले जनाएको छ ।
नेपालको संविधानमा रहेको धर्म निरपेक्षको ठाउँमा बैदिक सनातन, धार्मिक स्वतन्त्रता राख्ने गरी संविधान संशोधनमा नेपाली काँग्रेसले नेतृत्व लिनुपर्ने विज्ञप्तिमा भनिएको छ । गण्डकी प्रदेश सम्मेलनबाट पारित अवधारणापत्रलाई नेपाली काँग्रेसको सञ्चित सम्पत्तिका रुपमा ग्रहण गरी देशभर लागु गराउने गरी विधानमा व्यवस्था मिलाउन केन्द्रीय कार्यसमिति समक्ष अनुरोध गरी पठाइएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।




