पोखरामा कौडा खेलिरहेका ७ जना पक्राउ, ५७ हजार नगद बरामद

पोखरा  । कास्की प्रहरीले पोखरा महानगरपालिका वडा नं. २६ विजयपुरबाट जुवा (कौडा) खेलिरहेको अवस्थामा ७ जनालाई पक्राउ गरेको छ। विजयपुरमा कौडा खेलिरहेको भन्ने विशेष सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय शिशुवाबाट खटिएको प्रहरी टोलीले असोज २९ गते मध्यराति करिब ००:४५ बजे उनीहरूलाई नियन्त्रणमा लिएको हो।

पक्राउ परेका व्यक्तिहरूको साथबाट प्रहरीले नगद रु. ५७,०००।– (सन्ताउन्न हजार) र १६ थान कौडा बरामद गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ। नियन्त्रणमा लिइएका सातै जनामाथि जिल्ला प्रशासन कार्यालय कास्कीबाट सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसूर अन्तर्गत ‘जुवा खेल्न वा सट्टेबाजी गर्न नहुने’ मुद्दामा म्याद थप गरी आवश्यक अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ।

Advertisment