राष्ट्रिय सभा सदस्य उम्मेदवारहरु भोट माग्दै दमौलीमा

माघ ४,दमौली ।
आगामी माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनमा आफूहरुलाई मतदान गरि जिताउन आग्रह गर्दै उम्मेदवारहरु विहीवार तनहुँको दमौली आएका छन् ।
यहाँका प्रदेश सभा सदस्यहरु तथा स्थानीय तनहुँका प्रमुख उपप्रमुखहरुसँग मत माग्न सत्ता गठबन्धनका उम्मेदवारहरु दमौली आएका हुन् ।
राष्ट्रिय सभा चुनाव प्रचारप्रसार समिति, सत्तापक्षीय गठबन्धन गण्डकी प्रदेशले विहीवार विपि स्मृति भवन दमौलीमा आयोजना गरेको छलफल तथा परिचयात्मक कार्यक्रममा उम्मेदवारहरुले मतदाता भेटि मतदान गर्न आग्रह गरेका हुन् ।
सत्ता गठबन्धनका तर्फबाट गण्डकी प्रदेश उम्मेदवार बनेका नेपाली काँग्रेसका किरणबाबु श्रेष्ठ(गोरखा) र पदमबहादुर परियार(तनहुँ) एवम् नेकपा माओवादी केन्द्रबाट मनरुपा शर्मा (पर्वत) ले तनहुँका मतदातासँग मत मागेका हुन् ।
कार्यक्रममा बोल्दै उम्मेदवारहरूले संविधानले निर्दिष्ट गरेका अधिकार अनुरुप राष्ट्रिय सभाको भूमिकालाई प्रभावकारी बनाउन आफूहरुले उम्मेदवारी दिएको बताएका थिए ।
तनहुँमा आयोजित कार्यक्रम नेपाली काँग्रेस तनहुँका उपसभापति राजेन्द्रकृष्ण श्रेष्ठको सभापतित्वमा सम्पन्न भएको थियो । कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रिय सदस्य ध्रुव वाग्ले, नेकपा माओवादी केन्द्रका तर्फबाट पाटीका केन्द्रिय सदस्य एवं गण्डकी प्रदेश सभाका संसदीय दलका नेता हरिबहादुर चुमान, नेपाली काँग्रेस गण्डकी प्रदेशका महामन्त्री विष्णुुप्रसाद लामिछाने, नेकपा एकिकृत समाजवादी तनहुँका अध्यक्ष काजीमान श्रेष्ठ, नेपाली कांग्रेस तनहुँका निवर्तमान सभापति एवं व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपाने लगायतले सत्ता गठवन्धनका उम्मेदवारहरुले करिब दुई तिहाइ मत ल्याएर शानदार विजयी हुने ठोकूवा गरेका थिए ।
गठबन्धनको तर्फबाट प्रस्तुत उम्मेदवारहरु सबैका साझा उम्मेदवार भएको बताउदै राष्ट्रियसभा निर्वाचनबाट गठबन्धन थप बलियो बन्ने दावी गर्दै नेताहरुले गठबन्धनका उम्मेदवारलाई अत्याधिक मतले जिताउन अपिल गरेका थिए ।
नेपाली कांग्रेस तनहुँका उपसभापति देव कुमार श्रेष्ठले स्वागत गरेको उक्त कार्यक्रमको संचालन नेकपा माओवादी केन्द्रका गण्डकी प्रदेश सहसचिव अतिन्द्र केशरी न्यौपानेले गरेका थिए ।
गठबन्धन दलका तर्फबाट गण्डकी प्रदेशका नवलपुर, गोरखा, लम्जुुङ र तनहुँमा मतदाता भेटघाट सम्पन्न भएको नेपाली काँग्रेस गण्डकी प्रदेशका प्रवक्ता माधवप्रसाद बास्तोला(मधुु)ले जानकारी दिए । गठवन्धनका उम्मेदवारहरु शुक्रवार मतदाता भेटघाटनका लागि स्याङ्जा जाने कार्यक्रम रहेको र बाकी जिल्लाहरुमा आगामी ९ गतेसम्मका लागि कार्यक्रमहरू तय गरिएको नेपाली काँग्रेस गण्डकी प्रदेश प्रचारप्रसार विभागका उपप्रमुख शिरोमणि बरालले बताए ।

Advertisment