पड्काउंदै हिंड्ने ६८१ मोटरसाईकल कास्की प्रहरीको नियन्त्रणमा, वर्कसप संचालक समेत कारबाहीमा तानिंदै

२० फागुन, पोखरा । समाजमा मोटरसाईकलको स्वरूप परिवर्तन (मोडिफाई) गरी होहल्ला मच्चाई पड्काउंदै हिंड्ने ६८१ वटा मोटरसाईकल जिल्ला प्रहरी कास्कीले नियन्त्रणमा लिई कारवाही गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कास्की र जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीको संयुक्त टोलीले गत भाद्र २५ देखी स्वरूप परिवर्तन (Modified) गरी समाजमा होहल्ला मच्चाउँदै हिँड्ने, ध्वनी प्रदुषण गर्ने, साईलेन्सर पाईपबाट आगो समेत निकाल्ने मोटरसाईकलहरु नियन्त्रणमा लिई कारवाही गर्दै आईरहेको कास्की प्रहरीले जानकारी दिएको छ ।
स्वरूप परिवर्तन गर्ने, ध्वनी प्रदुषण गर्नेलाई कारबाही गर्ने कार्य सूचारू गरे पश्चात मिति २०८०।११।२० गतेसम्म ६८१ वटा मो.सा. नियन्त्रणमा लिई कारबाही गरिएको र जरिवाना गरि रू.७,४२,७००।- संकलन भएको कास्की प्रहरी प्रमुख एसपि मोहन थापाले पत्रकार माझ जानकारी दिनुभएको छ ।
समाजमा होहल्ला गर्दै मोटरसाईकल पड्काउदै हिड्ने तथा ध्वनी प्रदुषण गर्ने कार्य बढिरहेको अत्याधिक जनगुनासो प्राप्त हुन आएको हुँदा पुन: फागुन १७ गते देखि २० गतेसम्म कडाई साथ चेकजाँच गरी स्वरूप परिवर्तन (मोडईफाई) गरिएका मो.सा.हरू ५९ थान नियन्त्रणमा लिई आवस्यक कारबाहीको लागि यस जिल्ला प्रहरी कार्यालयमा ल्याई राखिएको छ ।
स्वरूप परिवर्तन गरिएका मो.सा.हरू मध्ये पटके कारबाहीमा परेकाहरूलाई आवश्यक कारबाहीको लागी यातायात कार्यालय कास्कीमा पठाउने तथा पहिलो पटकमा परेकाहरूलाई मोडीफाई गरिएका सामानहरू फेर्न लगाई पहिलेको जस्तै बनाउन लगाई ट्राफिक नियम उल्लंघनमा जरिबाना गरी अभिभावकको जिम्मा लगाई छाडिने भएको छ ।

मडिफाई गर्ने काममा संलग्न वर्कसप संचालक समेतको निगरानी गर्ने, पहिचान गर्ने र उक्त वर्कसप संचालकहरू समेतलाई नियन्त्रणमा लिई आवश्यक कानूनी कारबाही प्रक्रिया अगाडि बढाउने तयारी थालेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रमुख एसपि मोहन थापाले जानकारी दिनुभएको छ ।

सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा ३९ मा स्वरुप परिवर्तन, पार्टपुर्जा थप्न वा घटाउन रंग परिवर्तन गर्न नपाईने व्यवस्था रहेपनि पोखराका युवाहरुमा भने त्यस बिपरित गर्ने फेसन जस्तै बनिरहेको छ ।
तर प्रहरीले यसमा सहयोग गर्ने वर्कसप समेतलाई कारबाही गर्ने भएपछि केही हद सम्म रोकिने बिश्वास गरिएको छ ।

 

Advertisment