काठमाडौँ । सर्वोच्च अदालतले गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले लिनुभएको विश्वासको मतलाई असंवैधानिक घोषणा गरिदिएको छ ।
न्यायाधीशद्वय कुमार रेग्मी र सुनिलकुमार पोखरेलको इजलासले सोमबार मुख्यमन्त्री अधिकारीले लिएको विश्वासको मत संविधानसम्मत नभएको भन्दै बदर हुने फैसला भएको हो ।
सर्वोच्चको यो फैसलासँगै मुख्यमन्त्री अधिकारीको पद गुमेको छ । नेकपा एमालेबाट मुख्यमन्त्री हुनुभएका अधिकारीले ६० सदस्य प्रदेश सभामा ३० जनाको मत पाई विश्वासको मतलाई सभामुखले बहुमत भनी सदर गरेपछि बिबाद उत्पन्न भएको थियो । त्यसपछि नेपाली कांग्रेसले सर्वोच्चमा मुद्दा दायर गरेको थियो ।
नेपाली कांग्रेस संसदीय दलका नेता सुरेन्द्र पाण्डेले अधिकारीविरुद्ध दर्ता गराइएको यो दोस्रो रिट थियो । यसअघि दायर भएको रिट सर्वोच्चले खारेज हुने फैसला सुनाएको थियो । उक्त फैसलापछि मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिनुभएको थियो ।
विश्वासको मत पाउनका लागि एक मत कम भएको भनी विवाद भइरहेको समयमा सभामुखले ३० मत प्राप्त गरे पनि उपस्थित सांसदको सङ्ख्या ५९ भएको भन्दै बहुमत भएको तर्क गरेकै कारण सर्बोच्चमा मुद्दा पुगि सोमबार पुरा फैसला आएको हो ।




