पोखरा २६ असार । कास्कीको माछापुच्छ्रे गाँउपालिकाले एकै पटक ३८ जना प्रधानाध्यापकको माग गरेको छ ।
गाँउपालिको एक सुचना जारी गर्दै खुल्ला प्रतिष्पर्धा बाट प्रधानाध्यापक पदका लागि दरखास्त आह्वान गरेको हो ।
प्रधानाध्यापक छनोट तथा व्यवस्थापन सम्बन्धि कार्यविधि २०८१ अनुसार योग्यता पुगेका शिक्षकहरु र हाल कार्यरत प्रधानाध्यापकहरुले समेत दरखास्त दिन सकिने बताएको छ ।
प्रधानाध्यापक हुन योग्यता पुगेका र इच्छुकले हाजिर खुलेको विद्यालयको पत्र, स्थायी नियुक्ती, विद्यालय विकास प्रस्ताव, अध्यापन गरेका विषयमा पछिल्लो शैक्षिक सत्रमा प्राप्त गरेको नतिजा औषत अंक खुलेको प्रमाणित नतिजा फाराम, कुन विद्यालयमा प्रधानाध्यापक हुन चाहेको हो स्वघोषणा पत्र दिनुपर्ने भएको छ ।
त्यसका लागी ४ गते सम्म शिक्षा युवा तथा खेलकुद शाखामा दरखास्त दिन सकिने गाँउपालिका शिक्षा समितिका संयोजक एबं वडानम्बर ९ का अध्यक्ष हरि बहादुर क्षेत्रीले जानकारी दिनुभएको छ ।
दरखास्त दिएका मध्येबाट गाँउपालिकाको शिक्षा व्यवस्थापन तथा संचालन नियमावली दोस्रो संशोधन २०७५ र स्थानीय सरकार संचालन ऐन २०७४ को परिच्छेद १५ को दफा १०२ बमोजिम सामुदायिक विद्यालयमा ५ वर्षका लागि करारमा प्राधानाध्यापक छनोट हुने समेत वडाध्यक्ष क्षेत्रीले बताउनुभयो ।
गाँउपालिकाले पहिलो पटक एकै पटक आधारभुत तह अन्र्तगत कक्षा १ देखि ५ सम्मका लागि १८ जना, कक्षा ६ देखि ८ सम्म १० जना, माध्यमिक तह कक्षा ९ र १० का लागि ४ जना र माध्यमिक तह कक्षा ११ र १२ का लागी ६ जना प्रधानाध्यापकको माग गरेको छ ।