गुणबहादुर रोका
सुलीकोट, साउन २ गते । गोरखामा नाम्जुङ-घैरुङ बतासे-मनकामना सडक दुई दिनपछि सुचारु भएको छ । शनिबारदेखि परेको अविरल वर्षाका कारण शहिद लखन गाउँपालिकाको नाम्जुङ-घैरुङ बतासे सडक खण्डको वडा नम्बर ६ को खगी र ९ नम्बर वडाको गौथाले भन्ने ठाउँमा गएको ठुलो पहिरो पन्छाइएपछि सडक सुचारु भएको हो ।
४० मिटर माथिबाट खसेको पहिरोले सडक खण्डमा ढुंगा, माटो र ठुला रुख पन्छाउन शहिद लखन गाउँपालिकाको समन्वयमा जेसिबी प्रयोग गरी दुई दिनपछि सडक एकतर्फी रुपमा सञ्चालनमा आएको शहिद लखन गाउँपालिकाका अध्यक्ष रमेश थापा मगरले जानकारी दिनुभयो । उहाँका अनुसार यस सडकबाट गोरखा सदरमुकाम हुँदै बुङकोट, नाम्जुङ, गाउँपालिकाको मुख्य कार्यालय घैरुङ बतासे र मनकामना जाने मुख्य सडक भएकाले पनि गाउँपालिकाको कुशल पहलमा २ वटा स्काईभेटर प्रयोग गरी बाटो खुलाइएको हाे ।
नाम्जुङ-घैरुङ बतासे-मनकामना सडक खण्डमा भिषण पहिरो र सानासाना गरी एक दर्जन पहिरोको कारणले सोहि सडक खण्डमा सयौं सवारीसाधनहरु २ दिनदेखि रोकिएका छन् ।
शहिद लखन गाउँपालिकाले यात्रुलाई ध्यानमा राखेर पहिरो पन्छाउन अग्रसरता लिएको हो । सडक सुचारु भएपछि गोरखा सदरमुकाम हुँदै विभिन्न बाहिर जिल्लाका यात्रुहरु शहिद लखन गाउँपालिकाको नाम्जुङ–बतासे सडक खण्डको बाटो हुँदै मनकामना जाने सवारीसाधनहरुको चाप बढ्न थालेको शहिद लखन गाउँपालिकाले जनाएको छ ।
छिटो र छरितो पुग्न मनकामना केबुलकार मर्मत सम्भारको लागि ५० दिन बन्द हुनु र मनकामना पुग्न सडक बन्द भएर रामशाहघाट–मनकामना सडक खण्ड भाँसिएका कारण लामो बाटो प्रयोग गर्नु परेको चितवनबाट मनकामना दर्शन गर्नु आउनुभएका शाहले बताउनुभयाे ।
शनिबारदेखि परेको वर्षाका कारण गोरखाका ग्रामीण इलाकमा चल्ने सम्पूर्ण सवारीसाधनहरु गन्तव्यमा पुग्न कठिनाई भईरहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । जिल्लाका अधिकांश पालिकाहरुमा पहिरोले कम क्षति पुगेता पनि गोरखाको शहिद लखन गाउँपालिकालाई भने सबैभन्दा बढी बाढी र पहिरोले क्षति पु–याएको गाउँपालिकाको ईन्जिनियर राजन रानाभाटले जानकारी दिनुभयो ।




