पोखरा ८ असोज,
माछापुच्छ्रे क्रिकेट क्लवको आयोजनामा माछापुच्छ्रे टी–२० क्रिकेट लिग सिजन–३ शुरु भएको छ ।
प्रतियोगितामा पोखरा फिनिक्सले विजयी शुरुवात गर्यो । लेखनाथस्थित इडन हेवन्स क्रिकेट मैदानमा भएको खेलमा फिनिक्सले कुस्मा वारियर्सलाई ८ विकेटले पराजित गरेको हो । टस जितेर बलिङ गरेको फिनिक्सले कुस्मा वारियर्सलाई १७ ओभरमा ८४ रनमा समेटेको थियो । कुस्माको तर्फबाट दोर्जे लामाले २२ तथा विकास क्षेत्रीले १८ रन जोडे । फिनिक्सका बलरहरु विनोद नेपालीले ४ ओभरमा ५ रन खर्चिएर ४ विकेट लिए । त्यस्तै, उमेश कुँवर र अमृत लामिछानेले समान २ विकेट लिए ।
पोखरा फिनिक्सले खेल आफ्नों पक्षमा पार्ने क्रममा १५.५ ओभरमा ५ विकेट गुमाउँदै लक्ष्य प्राप्त गर्यो । फिनिक्सको तर्फबाट उपकप्तान प्रथम श्रीवास्तवले २४, अमृत लामिछानेले २३ तथा म्यान अफ द म्याच समेत बनेका विनोद नेपालीले अभिजित १७ रन बनाए । प्रतियोगिताको अर्को खेलमा सि.एण्ड.डी.वारियर्सले एभरेष्ट क्रिकेट क्लवमाथि ५८ रनको फराकिलो जित निकाल्यो । व्याटिङको निमन्त्रणा पाएको वारियर्सले पुरा २० ओभर खेल्दै ९ विकेटको क्षतिमा १ सय २० रनको योगफल तयार पार्यो । वारियर्सका लागि कप्तान प्रविण ढकालले २५, प्रदीप पौडेलले २१ तथा गोरे जिटी र अनिष खड्का दुवैले १८ रन जोडे । एभरेष्टका बलरहरु अजय रामले ३, नियाज अहमद र विटु बैठाले २÷२ विकेट लिए ।
जितका लागि १ सय २१ रनको लक्ष्य पछ्याएको एभरेष्ट १२.२ ओभरमा ६२ रनमै समेटिएको थियो । एभेरष्टको तर्फबाट प्रदीप माझिले १५, विक्की शर्माले १४ तथा नियाज अहमदले १२ रन जोडे । वारियर्सको बलिङमा म्यान अफ द म्याच अब्दुल खलिकले ४ ओभरमा १३ रन खर्चिएर ३ विकेट लिए । अर्का बलर सागर बस्यालले २ विकेट लिए । प्रतियोगिताको विजेत टिमले नगद १ लाख सहित ट्रफि तथा उपविजेता टिमले नगद ५० हजार सहित ट्रफि पुरस्कार प्राप्त गर्ने आयोजक क्लवका अध्यक्ष अध्यक्ष दीपेश खत्रीले जानकारी दिए ।