युनाईटेड खबर समाचारदाता
घार्मी, पोखरा । नेपालका पहाडी भेगमा ढकमक्क फुलेर प्रकृतिलाई ढकाउने गुलाबी-बैजनी फूल ‘रातो चुलेसी’ केवल दृश्य सौन्दर्यमा मात्र सीमित छैन। स्थानीय भाषामा ‘रातो अँगेरी’ वा ‘गलफुले’ नामले समेत चिनिने यो वनस्पति पारम्परिक जडीबुटी र आयुर्वेदका दृष्टिले बहुगुणी औषधिका रूपमा पहिचान बनाउन सफल भएको छ।
वैज्ञानिक भाषामा Osbeckia stellata र अंग्रेजीमा ‘Starry Osbeckia’ भनिने यो वनस्पति मध्यपहाडी क्षेत्रका वन-जङ्गल तथा पाखा-पखेरामा सहजै भेटिन्छ। आकर्षक पुष्पगुच्छाका कारण प्रकृतिप्रेमीलाई लोभ्याउने यो बनस्पति गाउँघरमा परापूर्वकालदेखि नै प्राथमिक उपचारको मुख्य स्रोत बन्दै आएको छ।
औषधीय गुण र प्राकृतिक उपचारमा प्रयोग:
चोटपटक र रगत रोक्न अचुक: काम गर्दा हातखुट्टा काटिएमा वा चोट लाग्दा यसको ताजा पात र मुन्टोको रस निचोरेर लगाउँदा रगत तत्काल थामिने र घाउ छिटो निको हुने स्थानीय अनुभव छ।
सूज र दुखाइ कम गर्ने: शरीरका विभिन्न भाग सुन्निएको वा मर्किएको अवस्थामा यसको पातको लेप बनाएर बाँध्ने गरिन्छ, जसले प्राकृतिक रूपमा दुखाइ र सुन्निने समस्या कम गर्छ।
छालाको हेरचाह: दाद, चिलचिलाहट र विभिन्न किसिमका छालासम्बन्धी सङ्क्रमणमा यसको रस वा लेपको प्रयोग प्रभावकारी मानिन्छ।
घाँटी र पेटको समस्या: घाँटी दुख्दा, खोकी लाग्दा वा पेटसम्बन्धी साधारण समस्यामा यसको जरा वा पातको काढा बनाएर सेवन गर्ने परम्परागत चलन रहेको छ।
प्राकृतिक रूपमा उपलब्ध यस्ता बहुगुणी जडीबुटीको पहिचान, संरक्षण र व्यावसायिक उपयोग गर्न सके स्थानीय तहमा परम्परागत ज्ञानको जगेर्ना हुनुका साथै जडीबुटीमा आधारित आयआर्जनको राम्रो सम्भावना देखिन्छ।




