पोखरा । नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र सांसद डा. आरजु राणा देउवामाथि भएको साङ्घातिक आक्रमणप्रति सोसलिष्ट इन्टरनेशनले गहिरो चिन्ता र कडा आपत्ति जनाएको छ।
विश्वका ८३ देशका ९१ राजनीतिक दल आवद्ध यस संगठनका अध्यक्ष पेद्रो साञ्चेज पेरेज–कास्तेजोनले वक्तव्य जारी गर्दै भदौ २३ गतेको जेनजेड प्रदर्शनका क्रममा भएको हिंसात्मक घटनाको निन्दा गरेका हुन्।
सोसलिष्ट इन्टरनेशनले प्रदर्शनका क्रममा ज्यान गुमाएका सबैप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेको छ। साथै घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गरिएको छ।
वक्तव्यमा प्रजातान्त्रिक अभ्यासअनुरूप ढिलाइ नगरी शान्तिपूर्ण संवादमार्फत समाधान खोजिनुपर्ने अपेक्षा गरिएको छ। साथै, यस चुनौतीपूर्ण घडीमा संगठनले आफ्नो सदस्य दल नेपाली कांग्रेससँग ऐक्यबद्धता जनाएको छ।



